सुन्दरताको मोल

बर्षातको त्यो पहिलो थोपाले 

फक्रन लागेको त्यो गुलाफको 
कोमल तनमा जब काउकुती लगाउँछ 
तब ऊ लजाउँदै सर्माउँदै मुस्काउंछे 
आफ्नो जवानीलाई मन्द मन्द फुकाएर 
अंग अंग सुस्तरी खोल्दै ऊ फक्रिन्छे 
त्यो रुप त्यो योवनको रहस्य क्या खुल्छ, आहा!
ऊ हांस्दछे..
ऊ हाँस्दा लाली जब चढ्छ तनमा 
भमराहरु उत्तेजित हुन्छन मन-मनमा 
उसको रस अनि सुगन्ध पछ्याउँदै
उसको तनलाई तरंगित बनाउंदै
भमरा जब गर्छ ऊसंग साउती 
कता-कता आनन्द लाग्छ 
उसलाई त्यो काउकुती 
आफुप्रति सन्तुष्ट हुँदै ऊ बल्छे धपक्क 
सुन्दरताको प्रतिमूर्ति ऊ फुलेकी छे सपक्क
जति हेर्यो उति लट्ठ पार्ने 
अहो! कस्तो उसको त्यो हाल
तर एकदिन टपक्क टिपिन्छ उसलाई
कठै! 
इश्वरको शरणमा ऊ बिताउछे बाँकी काल
इश्वरको शरणमा ऊ बिताउछे बाँकी काल || 
+++ भाष्कर+++++

Facebooktwitterredditpinterestlinkedinmail

अनी गगन खुल्छ रे

वर्षाको तप- तप संगै फुरुंगीएको यो मन

गगनको नयनका भेलसंगै टक्क अडिन्छ, कठै!
पहिलो झरसंगै झुमेर नांचेको यो तन
आकाशको कालो मुहार देखी थच्च बस्छ, कतै!

फूलका ओठ स्पर्श गरी, सुस्तरी सुस्तरी
गुच्छा गुच्छा भिजाउने बर्षात होइन यो 
घाम-पानी घाम-पानी एक पछी अर्को गरी 
मयुरलाई जिस्काउँदै नचाउने बर्सात होइन यो

यो त बस आकाशको आँशु को भेल हो
उसको आँशुसंगै कहिले हाँस्नु पर्ने  
त कहिले नमिठो संग रुनु पर्ने
कस्तो अचम्म यो खेल हो?

चन्द्रमालाई बोलाउँछु म केही सौन्दर्य भर्न भनी 
तर आकाश रुंदा उनी चिहाउन्नन्  रे 
तारालाई पनि बोलाई हेरें मैले 
उनी पनि चम्कन भ्याउन्नन्  रे..

अब त म पनि थकित भई 
सोध्छु आकाशलाई कति रुन्छौ भनी
केहि उत्तर दिन खोजे जस्तो गरी 
मुख खोल्छ ऊ, गड्याङ्गगुडुंग गर्छ अनी!

ऊ भित्र आगो बलेको छ जोडले 
ज्वाला चम्कन्छ घरी-घरी
दुख्दो हो कति, पोल्दो हो बेतोडले 
त्यसैले ऊ चिच्याउँछ बेसरी 

उसैको अश्रुको बर्सातमा 
कहिले हामीले नाच्नु पर्ने रे
उसैको रोदनको बेदनामा 
कहिले हामीले त्रसित भै बाच्नु पर्ने रे

शब्दमा व्यक्त नगरी ऊ 
रोएरै शान्त हुन्छ रे 
आज उसलाई सहनु रे
भोलि सुन्दर फूल फुल्छ रे

मिठो मुस्कान ओठमा डुल्छ रे…….
अनी गगन खुल्छ रे, अनी गगन खुल्छ रे 
Facebooktwitterredditpinterestlinkedinmail

पागल बस्ती

धकेलिएँ
त्यो बस्तीबाट 
जहाँ
सज्जनहरुको बास
लखेटीएं
त्यस नगरबाट 
जहाँ
पाइला पाइलामा  त्रास
फालिएँ
ती तथाकथित् सज्जनहरुबाट
त्यसैले,
उनीहरु माझ अट्टहाँस
सुन,
यहाँ अन्धकार अवश्य ,
तर पूर्णता , शान्ति
हे सज्जनहरु,
तिमीहरुलाई विश्वास नलाग्दो हो,
तर
यहि निश्पट्टतामा  चन्द्रमा हाँसेकी छिन
ताराहरु सलबलाएका छन्,
जुनकिरिहरु पिलिक पिलिक बत्ति बाल्दै
हर बखत नाचेका छन् |
ठिकै भयो
तिमीहरुले मलाई त्यो बथानबाट अलग्याएको,
नत्र  त्यहीं  हुन्थे
जहाँ,
सुन्दर चन्द्रमामा दाग मात्र देखिन्थ्यो,
उज्यालोलाई प्रश्न गरिन्थ्यो,
उदास फूल फुल्थ्यो
पवित्र गंगाको चरित्र हत्या गरिन्थ्यो,
मयूर पंख फैलाएर नाच्न सक्दैनथ्यो,
डर, त्रास, लोभ, मोह, हत्या आदि को जरो गाडिएको थियो |
हे बुद्धि भ्रस्ट भएका सज्जन हो
त्यहाँ सब थोक थियो,
पनि सून्य थियो..
यहाँ केहि छैन,
पनि पूर्णता
यहाँ,
पर क्षितिजमा भाष्कर कहिल्यै उदाउंदैन
उदाउँछ बस आफ्नो मन भरि
कहिल्यै नअस्ताउने  गरी
यहाँ,
फूलहरुको हाँसो कहिल्यै देखिदैन,
तर बास्ना चल्छ हरहरी 
निरन्तर चल्ने हावा सरी 
यहाँ,
मयूर नाचेको देखिंदैन 
तर उसको नाचको छनक तरङ्ग भरि
मनै लोभ्याउने गरी
हे बुद्धि नभएका सज्जन  हो,
तिमीहरुले घोक्राईदिंदा यहाँ आएँ 
जूनतारा उपहार पाएँ
त्यहाँ गगन पनि बादलले ढाकिन्थ्यो 
आफुआफुमा फगत रिषराग साटिन्थ्यो
लौ हेर,
तिमीहरुले बहिस्कार गरिदिंदा आज,
त्यो स्वार्थी बस्ती भुली यो परिवेशमा रमाएँ
तर,
धन्य तिमीहरु,
मलाई तिमीहरुले अझ देखी सकेनौ
मैलेपागलउपनाम कमाएँ
त्यैपनि,
आज आफैंमा सन्तुष्ट  छु
पागल कहलाइएकोमा रुष्ट छु
त्यसैले भन्छु घरीघरी,
हे सज्जनहरु,
धन्य मलाई धकेल्यौ 
त्यो बस्तीबाट
जहाँ
तिमीहरुको बास ,
धन्य मलाई लखेटेउ
त्यस नगरबाट 
जहाँ,
पाइला पाइलामा  त्रास
धन्य मलाई छोडिदियौ,
यस्तो सहरमा,
जहाँ,
सून्यता आफैंमा खास
अन्धकारमै उज्यालोको आभास |
  
Facebooktwitterredditpinterestlinkedinmail

त्यो निश्वार्थ प्रेम

ठुलो  गर्जन  सहित  जब आकाश  बोल्छ 
लोलाएको   त्यो  धर्तीको   आँखा  खुल्छ 
काकाकुल  झैं प्याक्क भएको  त्यो  मुखमा 
बिस्तारै  मिठो  मुस्कान  डुल्छ….  
बर्षाको  पर्खाइमा  मुर्छित  उनको,  
छिया  छिया  परेको  शरीर  .. 
सुकेका  ती  छालामा, निला  ती  ओठमा 
आशाका सुन्दर  फूल  फुल्छ
निकै कष्ट भएर पनि,
धर्ती  बाचेंकी  छिन्    हाम्रा  लागी 
यस्तो   कठिन  समयमा  कहिँ  नभागी.. 
छातीको  दुध  होइन  यिनले  रगत  चुसाएकी  छिन् 
आफु  पल  पल  मरेर  हामीलाई  बचाएकी  छिन्
त्यो  त्याग  त्यो  बलिदान  केही  नबुझी  हामी
एकअर्कासंग  लड्छौं  घरीघरी 
उनको पिंडा बढाउँदै उनकै काखमा कुल्ची
रगत  चुस्न  तम्सन्छौँ  पेट  भरीभरी
यसरी  आफ्नो  स्वार्थ  पूरा  भए  पछी  पनि 
एक  वचन  सोध्दैनौं  हामी ,
आमा ! तिमीलाई  के  चाहिन्छ  भनि
युगौं  युग  सम्म  यसरी  रगत  चुसाउंदा 
कसैले  नदेख्ने  गरी  आँसु  बर्षाउंदा  
यिनी  सुकेकी  छिन्,
भित्रभित्रै  मरेकी  छिन्,
त्यसैले    आज  मेघ  गर्जदा 
यिनको  ओठमा  मुस्कान   
नयनमा  आशा  पलाएको   
आशा;
आफु  बच्ने  होइन ,
हामीलाई  बचाउने  आशा 
आशा;
आफु  पिउने  होइन 
अरुलाई  पियाउने  आशा ,
हामीलाई  जियाउने  आशा… 
तर  दुर्भाग्य,
जब  प्रतिक्षाको  सकिनै  लागेको थियो पल 
ठुलो  बतास  आई  उडाई  लागेछ  बादल 
उनका  ओठका   मुस्कान  ओइलाई गएछ कठै!! 
अनुहारको  त्यो ज्योति  गुमेछ  कति  छिट्टै  
पानी पिउन  भनी  खुलेको  त्यो  ओठ  ट्याप्प  भएछ 
तपक्क  आँशु  झारिन्  उनले, उनलाई  असैह्यः  भएछ..
लोलायका  ती  नयन  बिस्तारै  बन्द  हुन्छ  
मुर्छित हुदैँ  सोच्छिन्  उनी,”अब  मेरा  सन्तानलाई  के हुन्छ?”
अब  मेरा सन्तानहरुलाई के हुन्छ?”
Facebooktwitterredditpinterestlinkedinmail

भगवान कहाँ छन्?

पुज्नु सम्म पुजी सकें

अब मैले पनि बुझी सकें
यी फगत ढुंगा रहेछन् 
कसैले यिनलाई देवता कहेछन् 


भगवान भए पुकार सुन्थे
असहायको दुख हर्थे
ढुंगा छन् मन्दिरमा मस्त
अरु यिनकै पुजामा ब्यस्त 


देवता भए अगाडी आएर देखाइदेउ
अनि सबको दुख एकैचोटी हटाइदेउ 
तर यो मात्र एउटा ढुंगा हो
दयालु ईश्वर कसरी बन्छ यो?


देवता ढुंगामा होइन आफैंमा  खोज
खराब बाटो त्यागी असल बाटो रोज
भगवानको बास आफैं भित्र हुन्छ
ढुंगालाई पुजेर कहाँ उसले सुन्छ??



Facebooktwitterredditpinterestlinkedinmail

लाचार

गगनबाट असिना बर्सेझैं तिम्रा ती नयन बाट आँशु झर्दा
तिम्रा ती चोटहरुको मलम हुन सक्दिन म

जीवन को अँध्यारो पलमा तिमीले बत्तिको सहारा खोज्दा
आफु जलेर उज्यालो छर्न सक्दिन म

म त केवल तिम्रो सुखमा साथ् दिने स्वार्थी हुँ
तिम्रा दुखमा तिमीलाई ज्यान दिन सक्दिन म

भयो, मेरो सामु न आउ तिमी, नराख म बाट आशा
आफ्नो हाँसो दाउमा राखी तिमीलाई हसाउन सक्दिन म

क्षणभरमै पवनसंग बग्दै डांडा काट्ने बादल हूँ म 
तिम्रा दुख पखाल्ने बर्सात दिन सक्दिन म

संसारमा मृत्युको भय बोकी म पनि आएकै छु 
तिमीलाई झुटो आस्वासन दिन सक्दिन म
आफु मरेर तिमीलाई जीवन दिन सक्दिन म ll

Facebooktwitterredditpinterestlinkedinmail