बेमौसमी याद

यो बेमौसमी वर्षाका
बाछिटाहरु
ओत लागी बसेको मलाई,
जानी-जानी जिस्काउन
आउँछन् |
लाग्छ,
यी पानीका थोपा होइनन्,
यी त उसका यादहरु हुन्,
पग्लिएर बर्सिंदै छन् सायद |

यी भिजेका प्यासी गल्लीहरु,
पत्र-पत्र फैलाएर
तनलाई नग्न बनाई
किन्चित बनेका फूलहरु,
कुना-कुना बाट सोहोरिएका
हाम्रो प्रेमको डुंगा बगाउने कुलोहरु,
कहाँ पाउन्न म उसलाई?
एक झर उसको याद,
जता-ततै फैलिएको छ |

कतै,
एक टुक्रा याद.
पग्लिएर तमाम तरुण युवतीहरुलाई
भिजाएको छ |
काँप्दै गरेका तिनका ओठ,
तिम्रोझैँ लाग्छ

चिसोले थरथराएका तिम्रा
ती ओठको ‘गर्मी’मा
मैले मेरो ओठ सेकाएको
सम्झना,
पानीको भेलसंगै सलल बग्छ |

प्रत्येक सम्झना,
प्रत्येक याद,
प्रत्येक बाछिटाले
यसरी पोल्छ कि मलाई,
मानौं,
यो बेमौसमी झरी
सायद,
मेरा सहस्र अश्रु त होइनन्?
नत्र,
बर्सिँदो झरीसंगै
यो मनको जलन,
यो राफ, यो ताप,
यो आफैंलाई डढाउने
ज्वालामुखी कस्तो?

-भाष्कर ढकाल
२०७२/०६/२७, अपरान्ह ४:१०

Facebooktwitterredditpinterestlinkedinmail

मलमास (केटीको दृष्टिकोण बाट )

आज पनि यो रात ननिदाई
बित्ने भो,
मेरो प्यारो सिरानी
तिम्रो छाती,
म संग कहाँ छ र?
लाग्छ,
यो चन्द्रमा बनि
तिम्रो झ्यालबाट तिमीलाई
सुटुक्क चोरेर ल्याऊँ |
मलाई थाहा छ,
तिमीले झ्यालमा पर्दा हाल्न
पक्कै बिर्सिएको छौ |

बिहान नुहाएर आई
श्रिंगार गर्दा,
मेरो श्रिंगार पूरा गर्ने
मेरो सिउँदो भर्ने
ती तिम्रा हात यहाँ छैनन् |
जसो तसो आफैंले
सिन्दुर हाल्छु
ऐनामा हेर्छु
तर,
‘आहा! कति राम्री देखिएकी’
भन्ने तिमी यहाँ छैनौ |
तिमी बिना मेरो श्रिंगार अधुरो छ |
तिमी बिना म अधुरी छु |

मलाई थाहा छ,
तिम्रो कोठा लथालिङ्ग छ,
सामान छरपस्ट छन् |
तर त्यो सबै भन्दा लथालिङ्ग,
तिमी भएका छौ |
तिमी अनि म,
आधा उता, आधा यता ;
चुँडिएर पल पल जिउनु
के फाइदा आखिर?
एक मन लाग्छ,
मेरा बा-आमाले मलाई
‘तेरो घर जा नानि’
भनिदिउन् |
बतास जसरी हुर्रिएर आउथें,
तिमीमा लीन हुन |

मलमासको एक महिना,
कहिले बित्ला आखिर?
तिम्रो मायाँमा डुबेकी म,
यहाँ रुखाएकी छु,
तिमी बिना,
सुकेकी छु, ओइलाएकि छु |
कहिले आउला श्रावण महिना,
अनि म तिमी कहाँ आउनेछु,
तिम्रो प्रेमको वर्षामा भिज्न,
अनि फेरी फुल्नेछु
तिम्रो बगैंचामा
पिरतीको सुन्दर फूल बनेर ||

मलमास कविता केटाको दृष्टिकोण बाट पढ्न यहाँ क्लिक गर्नुहोस्

pic courtesy:bosconos.tumblr.com

Facebooktwitterredditpinterestlinkedinmail

मलमास

गर्मीमा पनि प्यारो लाग्दैन
मेरो ओछ्छ्यान छेऊमा यो चिसो |
रातको यो समयमा,
कालो बादल बिच
लुकामारी गरेको त्यो चन्द्रमा,
तिमी झैँ लाग्छ |
मलाई सुटुक्क चिहाउन आएकी ||

बाहिर तिमीलाई नियाल्दै गर्दापो
म झल्यास्स हुन्छु,
कोठामा पर्दा नलगाएको नि
धेरै भएछ |
तिमी माइत गए देखी,
मेरो होश ठेगानमा कहाँ छ र?
सायद, तिमी चन्द्रमा बनी आउने,
यो मनले अगाडी नै थाहा पायो कि?

कोठा पनि न्याश्रिएझैँ लाग्छ,
पटक्कै उज्यालो लाग्दैन |
तिमी हुँदा,
यो कोठा नि त तिमीसंगै
धपक्क बल्ने गर्थ्यो |
अचेल त लाग्छ
पूरै असारे बादल
मेरै कोठामा मडारिएको छ |
र बर्सन्छ मेरा आँखा बाट,
मुसलधारे पानी |

सबेरै – सबेरै उठी,
नुहाई-धुवाई गरेर,
ती परेली केशका
शीत, जब मेरो जीउ भरि
छर्किन्थ्यौ,
मेरो बिहानी सुरु हुन्थ्यो |
तर,
अहिले चिसो सिरानीले
मेरो तन-मन चिस्याई रहन्छ,
र म परेली झिमिक्क नपारी
हेरी रहन्छु ढोकामा,
तिमीले चोखा शीत ल्याउँछौ कि भनी |

अब कति दिन सहनु
यो एक्लो पना मैले ?
उजाड उजाड लाग्छ,
यी सारा परवेश |
तिम्रो न्यानोपना कतै छैन |
चिसिएर असिना बनी,
टुक्रा टुक्रा भई बर्सन्छु कि कसो?
के तिमी आउँछौ,
मलाई बटुलेर अंगाल्नलाई,
यो उजाड पनलाई लखेट्नलाई,
श्रावण बनी,
हरियो चुरा लगाएर,
मेरो आगनीमा?

Pic. Courtesy: virginieravel.deviantart.com
Facebooktwitterredditpinterestlinkedinmail

घर-घरको कहानी

यो कथा,
बिछोडको हो,
यो कथा,
मनमा बज्रेको तोडको हो,
यो कथा,
एउटा यस्तो मोडको हो,
जहाँ दुई प्रेमी
एक अर्कालाई जितेर
पनि दुनिया हार्दछन् |
यो कथा,
एउटा यस्तो जोडको हो,
जसको हिसाब बडो बेजोडको छ,
जहाँ एक प्रेमी र एक प्रेमिका
जोड (प्लस) गर्दा
उनका परिवार घट्दछन् (subtract हुन्छन्) |
यो कथाको गणित बेतोडको छ |

यो कथा,
सामान्य हिसाबले सुरु हुन्छ |
एउटा केटा हुन्छ,
एउटी केटी हुन्छे,
दुईको मन मिल्छ |
यो सामान्य हिसाब भयो |
अब हिसाब जटिल बन्छ,
दुईको मन त मिल्यो,
तर,
बाँकी केही मिल्दैन,
जात मिल्दैन,
एउटा तथाकथित्  ‘ठूलो’ जात रे
अर्को ‘सानो’ |
भात मिल्दैन,
चालचलन मिल्दैन,
संस्कृति मिल्दैन,
रहन सहन मिल्दैन,
यो मिल्दैन त्यो मिल्दैन..
मात्र मन मिल्छ, मन..
त्यत्ति मिलेर हाम्रो समाजमा
बिहेको लगन मिल्दैन |
कठै!!

भनिन्छ दुई ज्यान एक हुँदा,
दुई जनाको मात्र मिलन हुन्न,
दुई परिवार एक हुन्छन्,
आफन्त बढ्छन्,
खुसी बढ्छ,
तर त्यो,
यो कथाको सपना मात्र हो,
यसका मुख्य पात्रहरुको रहर मात्र हो |
यहाँ,
अन्य कुरा आधुनिक हुन्छ,
माटोको घरको सट्टा मार्बलको घर हुन्छ,
desktop बाट laptop,
laptop बाट palmtop,
दौरासुरुवाल बाट सुट,
goldstar बाट बुट,
पिरुकाको सट्टा dining table,
लोकल ठर्रा बाट red label,
फलैंचा बाट मोटा मोटा गलैंचा,
आदि इत्यादी हरेक कुरा update हुन्छ,
तर सोच उही,
 केटी-केटाको जात मिल्नु पर्छ,
भात मिल्नु पर्छ |

किन मिल्नु पर्छ त?
“किनभने फलानोले के भन्ला?
ढिस्कानोले के भन्ला?
समाजलाई नाक कसरी देखाउने?
इज्जतको कुरा छ |”

कुन समाजको कुरा गर्छौ ए बा-आमा?
त्यहि, जसले तिम्रो घरमा पर्दा,
आफ्नो झ्यालको पर्दा लाउँछ?
कि त्यो समाजको,
जसले तिम्रो प्रगतिको आरिष गर्छ?
कि त्यो समाजको,
जो आफैँ नालीमा डुबेको हुन्छ,
तर तिमी गनाएछौ भनि हाँसो गर्छ?
समाजका मान्छे सब भेडा हुन् बा-आमा,
तिमी तिनीहरुको हूलमा मिसियौ भने,
तिमी नि भेडा बन्छौ |

जातकै कुरा गर्छौ भने,
दिनदिनै खाने तरकारी फलाउनेको जात सोध,
मिल्छ?
बिरामी भएर अस्पताल जाँदा,
जचाउनेको जात सोध,
मिल्छ?
रगतको कमीले पहेलपुर भएको बेला,
रगत दिने मान्छेको जात सोध,
मिल्छ?
तिम्रो घर बनाउने डकर्मीको जात सोध,
मिल्छ ?
जहाँ जहाँ आफ्नो कामको लागी मान्छे भेट्छौ,
ती सबको जात सोध,
मिल्छ ?
जिन्दगीको हरेक पाइलामा के तिमीलाई
तिम्रै जातको मान्छेले साथ दियो त?
नत्र जातको कुरा नगर..

माग नै गर्ने हो भने,
असल चरित्रको माग गर,
सिप, जोश, जागरको माग गर |
एउटा/एउटी असल मान्छे
मेरो/मेरी छोरी/ज्वाईं होस्
भनेर माग गर |
के जातमा अड्क्या छौ?
“मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन |”
ऊ बेला देवकोटाले भन्या कुरा,
मैले सानोमा पढ्दा,
तिमीले नै यसको मतलब बुझाएका होइनौ?
के किताबी कुरा किताबमै सिमित हुने हो त?
त्यसो हो भने,
नेपालको दुर्गति हरेक दिन समाचारमा देख्दा,
या आफैँले भोग्दा,
तिमीले नै भनेका होइनौ,
‘नेपाल उंभो नलाग्ने भो|”
किताबी ‘राम्रा’ कुरा किताब मै सिमित हुँदा,
को चाहिँ उँभो लाग्ला र?

हे,
हरेक माता-पिता,
आफ्नै सन्तानलाई दुखी तुल्याएर
कुन समाजलाई खुसी पार्न खोज्दैछौ ?
आफ्नै सन्तानलाई ‘यसो गर्यो’ भनेर
कुरा त काट्ने छैन त्यो समाजले तिम्रो?
के थाहा?
नालायक समाज त हो,
तिमीलाई खसाल्न अनेक दाउ त खोज्छ |
सबलाई खुसी पार्न सकिन्न बा-आमा,
नत्र आफ्नै जीवनले आफैंलाई टोक्छ ||

Facebooktwitterredditpinterestlinkedinmail

महाभूकम्प गएको रात लेखिएको हाइकु

१.
आजको रात
भुकम्पको कम्पन
के बाँचिएला ?
२.
चौ-तल्ले घर
के छ र अब भर
हाँस्यो जीवन ।।
३.
ऊ फेरी आयो
ए बचाऊ, बचाऊ
चैट जीवन ।।
४.
गयो भुकम्प
‘यति’ हजार मृत्यु
चल्छ जिन्दगी
५.
विदेशी मित्र,
”के छ तिम्रो खबर,
बाँची राख ल?”
६.
डरायो छोरा
‘आमा-आमा’ रुन्छ ऊ
लौन बचाऊ ।
७.
प्रियाको याद
भुकम्पको कम्पन
हल्लियो छाती ।।
८.
अनिदो रात
‘हल्लाउँछ कि फेरी?’
मनको त्रास ।।
Facebooktwitterredditpinterestlinkedinmail

एकादेशमा

एकादेशमा,
“दयाको सागर”
श्रीरामले,
रावणले भगाई लगेको,

आफ्नी ‘प्राण-प्यारी’ पतिव्रता पत्नी,  
सीतालाई समेत,
अग्निको परीक्षा दिन लगाए,
‘पवित्रता’ को…

एकादेशमा,
“देवादि-देव महादेव” ले,
“परम सुन्दरी” पार्वतीलाई
कैलाशमा एक्लै छोडी,
श्लेषमान्तक वनमा,
किराँत रुप धारण गरी,
किराँतिनी सँग,
पार्वतीलाई नै ‘बिर्सिएर” रहे |
पछी, त्यो किराँतिनी,
पार्वती नै हो भन्ने जानी,
‘कुलेलम” ठोके..

तिनै “भक्तवत्सल” शिव-ले,
आफ्नी “परमभक्त” वृन्दाको,
“पति-व्रता धर्म” हरण गर्न,
“करुणामयी” श्रीहरि विष्णुलाई,
पठाई,
छल-कपटले जालन्धरसँगको,
युद्ध जिते |
“लक्ष्मी-पति विष्णु” ले पनि
अर्काको स्त्री प्रतिको छल,
ढुंगा, घाँस, झार, वृक्ष
भई सहन पर्यो |

एकादेशमा,
‘प्रेमको प्रतिक’ 

भगवान श्रीकृष्णले,
राधालाई यति ‘प्रेम’ गरे
कि,
उनीले हरेक स्त्रीमा ‘राधा’ देखे,

१६१०८ गोपिनीहरु सँग,
‘शारीरिक प्रेम’ गरे |

र आज,
म जब जब मन्दिर जान्छु,
म देख्छु,
थुप्रै युवतीहरुको भींड,
जप्दै छन् महादेव,
कृष्ण, विष्णु, रामको,
नाम |

‘प्रभुको लीला अप्रम्पार छ’ |

     
Facebooktwitterredditpinterestlinkedinmail

चन्द्रमा

म सुन्छु, 
एक  प्रेमी 
आफ्नो प्रियसीसँग, 
अँगालोमा बेरिई, 
एकको ढुकढुकी 
अर्कोले महसुस गर्दै, 
भन्छ,
‘प्रिया, तिमी चन्द्रमा जस्ती छौ |’

अनि त्यहाँ, 
जोडिन्छन् ओठमा ओठ,
केटी लाजले भुतुक्कै हुन्छे, 
तर त्यो लाजले उसलाई उत्ताउलो पार्छ,
र अझ समीप हुन्छे |
सामिप्यताले जब कुनै सिमा जान्दैन, 
दुई शरीर जब एक हुन लालायित हुन्छन्,  
अनि रन्को मार्छन्, 
तब समर्पण गर्छे ऊ, 
आफ्नो सारा, उसको प्रेमीलाई..
र फूल्न पुग्छ, त्यहाँ, 
प्रेमको सुन्दर फूल.. 
अनि म हेर्छु, 
त्यो चन्द्रमालाई, 
जससँग त्यो प्रेमीले 
आफ्नी प्रेमिकालाई, 
दाँजेको थियो | 
र म देख्छु, 
एउटा उदास चेहरा,
एउटी उदास युवती, 
सेतो धोतीमा बेरिएकी,
कल-कलाउँदो यौवनमै, 
विधवा भएकी, 
एउटी फक्रन नसकेकी कोपिला..
उसलाई हेर्दा लाग्छ, 
उसका रङ्ग उसमा भरिन नपाउंदै, 
कतै उडेको थियो | 
ऊ रंगीन हुन चाहन्न, 
या त रंगीन हुनै सक्दिन,
समाजको डरले | 
कलकलाउँदो उमेरमा ‘उसको’ 
पतिको देहान्त हुँदा, 
उसलाई लोग्ने टोकुवा भनियो | 
आज ऊ, 
समाजको ‘कर र डर’ भित्र च्यापिएर, 
लाचार बनेकी छे | 
त्यो कालो धब्बा, उसमा, 
समाजले पोतिदिएको हो | 
त्यसैले ऊ आफुँमा रंग भर्न सक्दिन.. 
कहिले, 
ऊ भित्र आशा पलाएर आउँछ,
र हरेक दिन ऊ, 
सूर्यको रंगिन किरण उधारोमा लिन्छे, 
अनि पोत्न खोज्छे आँफैलाई, 
लाली चढाउन खोज्छे आँफुमा, 
सपना देख्ने जमर्को गर्छे, 
तर अफसोच, 
ती रंग आफुँमा भर्न सक्दिन, 
ओढ्न सक्दिन ती रङ्गहरु, 
किनभने उसमा दाग छ, 
समाजले उपहार दिएको.. 
सपनाको संसारमा मग्न हुँदा, 
ऊ धपक्क बलेर पूर्ण हुन्छे, 
बिना कुनै रंग नै ऊ, 
चौपट्ट सुन्दर हुन्छे.. 
उसको दाग मेटीएझैँ हुन्छ, 
र त्यहाँ पूर्णिमा हुन्छ.. 
तर, 
जब फेरी उसको सपना तुहिन्छ, 
जब फेरी ऊ निभ्न थाल्छे, 
तब, 
ऊ उसको कालो दागको दास बन्छे, 
लाचार अनि विवश बन्छे, 
र पुरै अन्धकार छाउँछ, 
ठीक त्यै बखत, 
कालो औंसी निर्लज्ज आउँछ | 
चन्द्रमाको त्यो सपना देख्ने 
अनि टुट्ने क्रम
जारी रहन्छ |
र,  
फेरी कुनै रातमा, 
कुनै नव जोडी, 
प्रेमको उन्मादमा, 
सानन्दको वर्षा गराउंदै,
एक अर्कामा लीन हुँदा, 
चन्द्रमालाई नै हेरी,   
केटाले केटीलाई  
‘चन्द्रमा’ उपनाम दिन्छ, 
र त्यहाँ, 
पुन: प्रेमको फूल फुल्छ |
तर कठै!!,
त्यो जोडीलाई के थाहा? 
“माथि चन्द्रमा प्यासी छे, 
उसमा श्वास छैन, 
जीवन छैन |
सूर्यको किरण उधारो लिई, 
रंगिन हुने खोक्रो सपना मात्र साँचेर,
ऊ बेरंग छे |  
उसमा रंगिन फूल फुलाउने 
सामर्थ्य,
अब छैन..”



Facebooktwitterredditpinterestlinkedinmail

शब्द

म खोज्दैछु,
शब्दैशब्द बीच,
शब्दलाई नै,
जुन शब्दले मेरो वर्णन गरोस्
जसले मलाई कुनै धरातलमा
उभ्याएको होस् |

सायद,
म खोज्दैछु यस्तो शब्द,
जसले मेरो मनोभाव चित्रण गरेको होस् |
अनि,
खोज्दा-खोज्दै म पाउँछु,
एउटा शब्द,
‘सपना’,
तर लाग्छ,
सपना एक बादलको टुक्रा हो,
जो धेरै हलुका हुँदा हावासंगै बग्छ,
र धेरै गह्रौ हुँदा पानी बनी बर्सिदिन्छ |

त्यसैले म,
सपनामा नअल्झी,
बनाउँछु आफ्नो खोज तीव्र ;
अनि,
निकै कसरत पछी म पाउँछु,
अर्को शब्द,
‘खुसी’
तर फेरी लाग्छ,
खुसी त फगत एउटा समुद्री छालझैं हो,
जो एक बखत आफुँ संग हुन्छ
अनि ठिक अर्को बखत टाढा…

खुसीलाई पनि पन्छाई अर्को शब्द हेर्दा,
म पाउँछु,
‘आशा’
जो आफ्नो हात फैलाउँदै छ,
अनि भन्दै छ,
‘मलाई अङ्गाल, म सर्वशक्तिमान छु ‘
अतः म घोत्लान बाध्य हुन्छु |
निकैबेर सोचमग्न भएपछी,
म ‘निराश’ हुँदै अर्को शब्द खोज्न आतुर हुन्छु…

संयोगबस्,
म ठोकिन्छु,
‘बोध’ -सँग
र छर्लंग हुन पुग्दछु,
कि,
म शब्दलाई होइन,
शब्दहरु मलाई खोजी रहेछन्
तर म,
एक पछी अर्को गर्दै,
शब्दहरु संग भाग्दै छु |
हरेक शब्दमा नैराश्यता देखेर,
म ‘सपना’, ‘खुसी’ र ‘आशा’ लाई लत्याउदै
कुन धरातलमा उभिन खोज्दै थिएँ?

बस्,
यहि  बुझेर म अर्को शब्द नियाल्दछु
र पाउँछु,
‘मुस्कान’ ||

Facebooktwitterredditpinterestlinkedinmail

मेरो मन

मेरो मन-
हिउँद यामको सुकेको पात,
झरी रहेछ निरन्तर,
नांगिएको अस्तित्वलाई झन् नंग्याउँदै,
बहकिंदै छ,
निरर्थक |
आफ्नो थलो छोडी,
आफ्नो कर्म भुली,
भित्र-भित्रै सुकी,
झरी रहेछ, 
बस् 
कतै आएर अडिन भनी,
स्वप्न संसारमा…

हा! खुदको पहिचान भुलेर,
के पाउँदो हो यसले?
आफ्नो परिवेश त्यागी,
कुन स्वप्न खोज्दै छ यो?
उड्दा उड्दै थाकी,
कतै अडिएकै बखत
कुनै जीवको पैताला मुनि
परेको पातझैँ,
मेरो मनको
भविष्य,

धुजा-धुजा… 



Facebooktwitterredditpinterestlinkedinmail

जब

जब ४३०० मिटरको उचाइमा यो मन तड्पिदिन्छ
जब बिछोडको पिंडाले मुस्कान कता हराइदिन्छ
जब रातको चकमन्नतामा भित्र भित्रै डाह भईदिन्छ
जब चिसो बतासले पुरै तन ठिन्गुराइदिन्छ
जब मायालुको न्यानो स्पर्शको तिर्सना बढिदिन्छ
जब चिसा मान्छेका चिसा वाक्यले घोचिदिन्छ
जब प्रियसीमा मिठा यादले पिरोलिदिन्छ
जब मोबाइलले ‘सम्पर्क हुन सकेन’ भनिदिन्छ
जब कुण्ठित भावना मुटुको कुनामा थन्किदिन्छ
जब लोभ लाग्दो जुनेली रात पनि वाक्क लागिदिन्छ
तब यो मगजले बुझिदिन्छ,

कि तिमी बिना यो जिन्दगी कति अपुरो छ.. 

(गोसाईकुण्डको यात्राको क्रममा राति रचिएको लेख)

Facebooktwitterredditpinterestlinkedinmail