“तिम्रो nickname (निकनेम) के हो?” कसैले मलाई सोधेको सम्झन्छु। त्यो पनि २०औँ २२औँ वर्ष अगाडी होला।
‘निकनेम?’ म झस्किन्छु।
“अँ, के! तिमीलाई घरमा के भनेर बोलाउनु हुन्छ?” उसले मलाई अर्को प्रश्न तेर्साउँछ।
“मलाई त भाष्कर भनेर नै बोलाउनु हुन्छ। म सरल उत्तर दिन्छु।”
“के रे के रे? तिम्रो निकनेम छैन त्यसो भए?” ऊ छक्क पर्दै सोध्छ। “सबैले भाष्कर नै भन्ने हो?”
“अँ! तर कहिले बाबु पनि भन्नु हुन्छ अनि दिदि-दाइहरुले चाहिँ भाई पनि भन्नु हुन्छ।”
“हरे! त्यस्तो होइन के?”
“अनि के त?”
“जस्तो कि अनुभवलाई अनु, अदितीलाई अदु, आश्नालाई आशु र अभिनवलाई अभि भने जस्तै तिम्रो घरमा मायाले बोलाउने नाम छैन?”
म एकछिन घोरिन्छु अनि भन्छु, ‘छैन। मलाई त भाष्कर नै भन्नु हुन्छ सबैले।’
“ए! कस्तो अनौँठो।” यति भन्दै ऊ आफ्नो बाटो लाग्छ।
ऊ त आफ्नो बाटो लाग्यो तर मेरा मनमा उठेका विचारका ज्वारभाटा बाटो लाग्ने वाला थिएनन्। अब मनभरी प्रश्न मेरै थिए र उत्तर पनि मैसँग मागिरहेका थिए। त्यसो भए घरमा मलाई कसैले पनि मायाले बोलाउनु हुन्न त? एकछिन फेरि घोरिन्छु। ‘बाबु’, ‘छोरा’, ‘कान्छो’, भाई अनि ‘भाष्कर’… बस् यत्ति त छ मेरो बोलाउने नाम। मलाई किन कसैले ‘भासु’ अथवा ‘भास्कु’ भन्दैनन् – बरु कुनैकुनै बेला त अझ ‘भाष्करे’ नै भनि बोलाउँछन्। म निराश हुन्छु।
फेरि सोच्छु, घरमा कसैले त मलाई अलि भिन्न नामले बोलाउनु हुन्छ कि? तब मलाई झल्यास्स बाको याद आउँछ। बाले मलाई धेरै जसो ‘बाबु’ भने पनि कहिलेकाँही ‘गोविन्दे’ अनि ‘गोपाले’ भन्नुहुन्थ्यो। तर के बाले मलाई मायाले ‘गोविन्दे’ भन्नु भएको हो त? मलाई फिटिक्कै मन परेन त्यो उपनाम। कसैले मायाले पनि काँही गोविन्दे , गोपाले भन्छ होला त? छ्या!
मलाई मन परे पनि नपरे पनि बाले त्यसपछि पनि मलाई लामो समय सम्म गोविन्दे र गोपाले भनी रहनु भयो। म ठूलो भएपछी मात्र भन्न छोड्नु भयो। ‘बाबु’ र ‘भाष्कर’ नै फेरि बोलाउने नाम भए। पछि थाहा पाएँ, बाले साना मान्छेलाई गोविन्द/गोपाल भन्नु भएको रहेछ – श्रीकृष्णको अवतार मानेर। उहाँले हरेक बच्चामा कृष्ण देख्नु भयो, कृष्णलाई पुकार्नु भयो। जब बुझें, तब लाग्यो आहा कति सुन्दर उपनाम! बरु ठूलो भएपछी, साथीहरुले मलाई ‘भासु’ अनि ‘भास्कु’ भन्न थाले। ती निकनेम गोविन्दे/गोपाले जस्ता प्रिय लागेनन्।
अहिले छोरा १८ महिनाको भयो। कृष्ण चिन्छ, कृष्णलाई देखेर मुरली बजाउँछ, कृष्ण भजनमा तिघ्रा ठटाएर नाच्छ। “श्रीकृष्ण भगवान कि..?” भन्दा दुई हात ठड्याएर ‘जय’ भन्छ। एकदिनको कुरा हो, ‘भज गोविन्दम’ भन्ने भजन बजिरहेको थियो घरमा। टिभीमा कृष्णको तस्विर आईरहेको थियो। ‘गोविन्द’ शब्द सुन्ने बित्तिकै मैले ‘गोविन्द’भनेको को हो? भनेर प्रश्न गरेँ। मैले सोचेको थिएँ उसले टिभीको कृष्ण देखाउँछ। तर मलाई नै आश्चर्यमा पार्दै उसले आफैँतिर औँला तेर्स्यायो। आफ्नै नाक माथि चोरी औँला राख्दै देखायो कि गोविन्द भनेको ऊ नै हो। यो देखेर मैले आफ्नो बालापन सम्झिएँ। बाले मलाई गोविन्द/गोपाल भन्ने गर्नुभएको समय सम्झेँ। पहिला म गोविन्द थिएँ, अहिले बा लगायत सबको लागि छोरा गोविन्द भएको छ। ऊ त आफ्नै लागि पनि गोविन्द भएको छ – गोविन्द को हो भनेर सोध्दा आँफैलाई देखाउँछ ।
ठिक हो, जब मनमा गोविन्दको बास हुन्छ, तब मन नै गोविन्दमय हुन्छ। जब मनै गोविन्दमय हुन्छ तब हरेकमा गोविन्दको दर्शन हुन्छ। कोहि अलग लाग्दैनन्। ऊ नै गोविन्द, म नै गोविन्द, मनै गोविन्द – सबै गोविन्द।