ठिक हो, जब मनमा गोविन्दको बास हुन्छ, तब मन नै गोविन्दमय हुन्छ। जब मनै गोविन्दमय हुन्छ तब हरेकमा गोविन्दको दर्शन हुन्छ। कोहि अलग लाग्दैनन्। ऊ नै गोविन्द, म नै गोविन्द, मनै गोविन्द – सबै गोविन्द।
ऊ नै गोविन्द, म नै गोविन्द – मनै गोविन्द – सबै गोविन्द
Musings of the lost poet
ठिक हो, जब मनमा गोविन्दको बास हुन्छ, तब मन नै गोविन्दमय हुन्छ। जब मनै गोविन्दमय हुन्छ तब हरेकमा गोविन्दको दर्शन हुन्छ। कोहि अलग लाग्दैनन्। ऊ नै गोविन्द, म नै गोविन्द, मनै गोविन्द – सबै गोविन्द।
तिमीले निकालेका हरेक वाणी हाम्रालागी गीत भन्दा प्यारो छ। हामीले सिकाएको दुईचार शब्द बोलिहाले पनि हामीले नबुझ्ने भाषामा तिम्रो दोहोरो संवाद जारी छ। एकमनले लाग्छ तिमी चाँडै ठूलो होऊ, चाँडै हाम्रो भाषा बोल्ने होऊ। अर्को मनले लाग्छ तिमी सानै भईराख, सरसपूर्ण कलिलो भाकाले हाम्रो जिन्दगीमा तिमी देववाणीमा गीत गाईराख। हाम्रो चाहना जेजस्तो भएपनि एकातर्फ परिवर्तनशील संसारको रीत छ, अर्को तर्फ तिम्रा सुनिरहूँ लाग्ने निश्चल गीत छ। यो कस्तो समय हो छोरा, जीवन प्रति अहिले नाप्नै नसकिने असीम प्रीत छ।
त्यो ‘ आ…मा..’ शब्द सुन्ने बित्तिकै तिम्री आमाको मुहारमा अलौकिक आनन्द र खुसी देखें । सायद तिमीले ‘ बाबा ‘ भनेर शब्द उच्चारण गरेको भए मेरो खुसी त्यो बिन्दुसम्म पुग्ने थिएन जति तिम्री आमाको पुगेको थियो।
मेरो एउटा साथी थियो। नामले निर्दोष कामले फटाहा। यो कुरा हामी कक्षा ६, ७ र ८ हुँदाको हो। कक्षा ६मा म जिन्दगीमै पहिलो चोटी विद्यालय परिवर्तन गरी अर्कोमा गएको थिएँ। दोस्रो विद्यालयको पहिलो दिन, युनिफर्म नलगाएको कारण म असेम्ब्लीबाट निकालिएँ। असेम्ब्लीबाट निकालिनु पूर्व, मेरो नयाँ विद्यालयको नयाँ साथीसँग भेट भएको थियो। ऊ पनि विद्यालयको सिमेन्टको चौरमा मेरो जस्तै गह्रुङ्गो पाईला चाल्दै थियो। सायद उसका भन्दा गह्रुङ्गा पाईला मेरा थिए। त्यहि भएर त साथ दिन ऊ नै आइपुग्यो – दोस्तीको पहिलो कदम उसैले चाल्यो। आत्मीयताको हात उसैले बढायो अनि सोध्यो:
‘तिमी पनि 6A मा हो?’
‘हो। ‘
‘कुन बेन्चमा बस्यौ?’
‘सबैभन्दा कुनाको फर्स्ट बेन्च, तिमी?’
‘ल, म पनि त्यहीँ बसेको। ‘ उसले हाँस्दै भन्यो। ‘नाम के हो तिम्रो?’
‘भाष्कर ढकाल, तिम्रो नि?’
‘प्रतीक यादव।’
हो, मेरो यो कथा भलै निर्दोषबाट सुरु भयो – दोस्तीको गाथा भने प्रतीकबाट सुरु हुन्छ। किनभने जहाँ भाष्कर र निर्दोष थिए, त्यहाँ एउटा पुन्टे मान्छे प्रतीक पनि थियो।
असेम्ब्ली त सकियो तर म युनिफर्म नलगाएको कारण निकालिएँ, प्रतीक भने सोझै लाग्यो कक्षातिर। जब म नयाँ विद्यालयको पहिलो केरकारमा परेर कक्षामा छिरेँ, म सोझै प्रतीक भएतिर लागेँ तर मेरा झोला त्यहाँ थिएनन्। कसैले मेरो झोला अन्तिम बेन्चमा राखिदिएछ। प्रतीक नि ट्वाल्ल परेर हेरिरह्यो किनभने उसको छेउमा अर्कै केटा बसेको थियो – त्यो केटा निर्दोष थिएन। किनभने निर्दोष त अर्को सेक्सनमा थियो। म मेरो झोला भएकै ठाउँमा बसेँ। सायद, प्रतीकले सोच्यो मैले उसलाई अघि फर्स्ट बेन्चमा झोला राखेको छु भनेर झुटो बोलेँ।
केहीदिन पश्चात सेक्सन A र B मिसाइयो, त्यसपछि मिलन भयो निर्दोष, भाष्कर र प्रतीकको। पहिलो भेट कसरी भयो निर्दोषसँग हेक्का छैन, तर ऊ लोकन्थली बस्ने, म जडिबुटीको -एयरपोर्टको पूर्वी मार्गमा। तीनकुने/मीनभवनबाट बस चढ्दासँगै हुन्थ्यौं हामी। म कहिले बस चढ्थेँ कहिले चढ्दिनथिएँ। कारण, एक – म हिंड्न रुचाउने मान्छे र अर्को – हिंडेर घर जाँदा बसभाँडा जोगिन्थ्यो। मेरै लहैलहैमा ऊ पनि कहिलेकाँही तीनकुने/मीनभवन देखि लोकन्थली पैदल नै गैदिन्थ्यो।
निर्दोष मेरो कक्षामा थियो, उसको भाई सन्देश अर्को सेक्सनमा। तर जहाँ निर्दोष छ, त्यहाँ सन्देश छ जस्तो लाग्ने र जहाँ सन्देश छ त्यहाँ निर्दोष छ जस्तो लाग्ने। जहाँ दुवै छन्, त्यहाँ एउटै मनाव क्लोन गरिएझैँ लाग्ने। निर्दोष र सन्देश जुम्ल्याहा थिए। यो कुरा मैले निकै पछि थाहा पाएँ जब निर्दोष ठानेर मुसुक्क हाँस्दा, निर्दोष रूपी सन्देशले केहि फर्काएन – नचिनेझैं गर्यो। एकदिन दाजुलाई भेट्न भाई जब हाम्रो कक्षामा आयो, तब म छर्लङ्ग दुईजना निर्दोषलाई देखेर हैरान भएको थिएँ।
मलाई निर्दोष असाध्यै राम्रो लाग्थ्यो। एकदिन विद्यालय जाँदा एउटै गाडीमा पर्यौं अनि झरेर सँगै जाँदा, मैले उसलाई उसको मुहार निकै राम्रो लाग्छ भनेको थिएँ। उसले आफ्नो मुहार छाम्दै भनेको थियो, ‘थुक्क साला! तँलाई यस्तो डन्डीफोर आएको अनुहार राम्रो लाग्या? त नै राम्रो छस् मभन्दा।’ मैले मनमनै जाबो डन्डीफोर के हो र भन्ने सोचेँ। तर जब म कक्षा ९ मा पुगेँ , मेरा नि मुहार डन्डीफोरले छपक्कै ढाक्यो। त्यतिबेला निर्दोषको वाणी मेरो मानसपटलमा फेरि आयो। निर्दोषको मलाई मुहारमात्र होइन बानी पनि मन पर्थ्यो – मिलानसार र हँसिलो थियो। अझ ऊ त ‘सर्काजम किङ्’ नै थियो। कसैले केहि भने त्यसमाथि यसरी शब्दको वाण हानी जाई लागिदिन्थ्यो कि अर्कोले फेरि उसलाई प्रहार गर्ने सामर्थ्य राख्दैन थियो।
कक्षा ६को अन्त्यतिर बाट प्रतीक, म र निर्दोष अझ नजिंकिदै गयौँ। कक्षा ७मा पुगेर सँगै बस्न पनि थाल्यौँ। मित्रता यति प्रगाढ बस्यो कि शिक्षकले प्रश्न सोध्दा सुरुमा हामीमध्य कसैले उत्तर भन्न सकेन भने उत्तर आए पनि अरुदुई त्यसै ‘आउँदैन’ भनेर उठिदिन्थ्यौँ। कि त सबै उठ्यो, कि त सबै बस्यो। सजाय पाउँदा ३ जनालेनै एकसाथ सजाए भोग्ने गर्थ्यौं। केहिगरी सुरुकै मान्छेलाई उत्तर आएको खण्डमा भरसक अर्कोलाई सिकाइ सिकाइ भए पनि बसाइन्थ्यो। यसरी बिरलै मात्र कसैले सजाय भोग्ने कसैले नभोग्ने भयो होला। सजाय पढ्ने कुरामा मात्र होइन, शर्ट भित्र गन्जी लाएको छ कि छैन पनि चेक हुन्थ्यो, नलगाएको खण्डमा सजाय पाइन्थ्यो। निर्दोष र म, कहिले पनि भित्र गन्जी नलगाउने। कक्षा ८ कि कक्षाशिक्षकाले ढाडमा डाम बस्ने गरी कुट्ने गर्नुहुन्थ्यो। निर्दोष र म हाँसीहाँसी कुटाई खान्थ्यौँ। साथीहरुसँग मिलेर कुटाई खानु जस्तो रमाइलो कुरा अरु सायदै होला।
खाजा खाँदा पनि हामी तीनजना सँगै खान्थ्यौं। विद्यालयको क्यान्टिनमा १ प्लेट म:म:को १२ रुपैँया पर्थ्यो। ३ जना मिलेर १२ रुपैँया हाल्ने सर्तमा खाजा खाने निर्णय गरेका थियौँ । तर ४-४-४ गर्नुको सट्टा एकदिन एकजनाले २, अर्कोले १० अनि अर्कोले केहि नहाल्ने नियम बन्यो। आज २ हाल्नेले भोली १०, आज १० हाल्नेले भोली केहि नहाल्ने, अनि आज केहि नहाल्नेले भोली २ हाल्ने गरी नियम भयो। त्यसरी १ महिना जति खायौँ हामीले तर १ महिनाको अन्त्यतिर पुग्दा नियममा फेरबदल भएको थियो। धेरै जसो प्रतीक १० हाल्थ्यो अनि कहिले मैले २, कहिले निर्दोषले। यसरी खाजा खाँदा प्रतीक रिसले चुर भइसकेको थियो। ‘सधैँ मैले मात्र १० हाल्ने सालाहरु? म एक्लै खान्छु खाजा भोलीदेखि’, भनेर उसले हामीलाई निकालिदियो। अर्को दिनदेखि कसले खाजा देला भनेर निर्दोष र म खाजा ल्याउनेहरुको अघिपछि डुल्न थाल्यौँ। एउटा सुकदेव भन्नेले सधैँ खाजा बोकी आउंथ्यो, त्यसको त झन् चौंथो पिरिएड नआउंदै खाजा सक्किन थालेपछि त्यसले पनि ल्याउन छोड्यो। यावत तरिकाले हाम्रो कक्षाभरिका केटाहरुले खाजा ल्याउन/खान छोडे। एउटा बिप्लप भन्ने साथीले चाहिँ बठ्याइं गर्दै खाजा समय सक्किनेबेला क्यान्टिनमा गई समोसा खाँदो रहेछ। यो कुरा थाहा पाएर, खाजा समय सक्किनेबेला सबै उसले नदेख्ने गरी लुकेर बस्थ्यौँ अनि जब समोशा हातमा लिएर टोक्न आँ के गरेको हुन्थ्यो, चारतिर बाट ‘attack’ भन्दै एउटा समोशा ६-७ जनाले लुछ्दा सानो आलुको टुक्रा पनि किन्नेको भागमा आउँदैनथियो। एवं रीतले, बिचरो उसले पनि खाजा खान बन्द गर्यो।
खाजा त खान छोडेकै थियो प्रतीकले तर अचानक एकदिन आएर उसले ऊ पूर्ण साकाहारी भएको खबर गर्यो। निर्दोष र म छक्क पर्यौं। कति दिनको नाटक हो यसको भनेर उल्लीबिल्ली लगाईयो तर उसले मासु त के अण्डा हालेको कुरासमेत खान छोडिदियो। प्रतीकको यो प्रतिज्ञा मलाई असाध्यै मन पर्यो। मैले पनि त्यसैगरी मासु नखाने निर्णय गरेँ र घरमा भनेँ। घरबाट सकारात्मक कुरो नै आयो। त्यसको लगत्तै घरमा मासु पाक्यो – मुखभरी पानी आई त हाल्यो – कहाँ सक्नु नखान? त्यहि साल दशैँमा फूलपातीको अघिल्लो दिन घरमा खसी ल्याइयो। मलाई खसी किन्न जान र खसीलाई चराउन जान असाध्यै मन लाग्थ्यो त्यहि भएर घरमा दशैँमा खसी ल्याउनै पर्छ भनेर हरेकसाल झगडा गर्थें। चराउन मन हुने भएकाले अलि अगाडिनै किनेर ल्याएर म खसीलाई चौरमा चराउन लान्थेँ। त्यो खसीप्रति म अलि धेरै नै लगाव राख्ने भएको थिएँ। अष्टमीको दिन बिहान बिउझिने बित्तिकै खसी सम्झेर तल आँगनमा पुगेको मात्र के थिएँ, ठ्याक्कै मार हान्ने समयमा पुगेछु, त्यो खसीको असह्य पींडा मेरो जस्तै हो लाग्यो। त्यस उप्रान्त हरेक खसीमा म त्यहि खसी देख्थेँ। दशैँ पछि विद्यालय गएर मैले निर्दोष र प्रतीकलाई भनेँ, ‘आज देखि म पनि शाकाहारी।’ त्यसपछि म जीवनको झन्डै १५ वर्ष शाकाहारी भएँ। जब मेरो जीवनमा मेरी जीवन संगिनीको प्रवेश भयो, त्यसपछि पुन: मांसाहारी भएको छु। एउटा साथीको साथले कति फरक पार्दछ जिन्दगीमा ……
निर्दोषको निर्दोषीपन या भनौं मायालुपन कति थियो भने यस घटनाले प्रमाणित गर्छ। म कक्षाको ‘मोनिटर’ चुनिएको थिएँ र शिक्षकको अनुपस्तिथिमा म कक्षालाई अनुशासनमा राख्दै थिएँ। त्यहीबेला आशिष र बिप्लव दुईजना झगडा गर्न थाले, म छुटाउन थालेँ। छुटाउने क्रममा दृश्य यस्तो देखियो कि म नै उनीहरुसँग झगडा गरिरहेको जस्तो। उता हाम्रै कक्षाशिक्षकाले त्यो देखी सोझै मलाई नै दोषी ठहर गरी ‘मोनिटर नै यस्तो’ भन्दै मेरो गाला पड्काएर जानु भयो। म बबुरोको हृदय छियाछिया भयो। रोएँ। रोएर मन हलुका भएन, कविता कोरेँ। आँशु कवि थिएँ कि थिइन थाहा छैन तर आँशु बगाउँदै कविता चाहिँ लेखेँ। पुरैभाग त म सम्झिन्न तर सुरुका केही अंश यस्ता थिए:
गल्ती के नै थियो र मेरो?
झगडा छुट्याउने कर्तव्य थियो मेरो
झापड खाएँ मैले आज
सबै साथीहरुको माँझ।
मोटा थिए उनीहरु
गाह्रो भयो छुट्टाउन
भएन गाह्रो मिसलाई
मेरो गाला पड्काउन ..
अरु पङ्क्ति मलाई याद भएन, यो कविता भएको डायरी पनि कता हराईगयो। यो कविता निर्दोषले सबै भन्दा पहिला पढ्यो अनि निकै भावुक भयो। ‘हिँड त्यो मिसको कम्प्लेन गर्ने’ भनेर मलाई तानी रह्यो। मैले हुन्दे भनेँ, उसलाई चित्त बुझ्दैबुझेन। सायद मलाई जत्ति नै उसलाई पनि दुखेको थियो। हरेक सजाय सँगै भोग्ने हामी, त्यसमा म एक्लो भागीदार हुँदा ऊ पनि निराश भएको थियो। पाचौँ पिरियडमा त्यहि शिक्षिका हामीलाई पढाउन आउदै थिईन् , निर्दोषलाई त्यहि बेला भएपनि मेरो साथीलाई किन कुरै नबुझी कुटेको भनेर सोध्न मन थियो। उसलाई मैले त्यसो नगर्न सल्लाह दिएँ। ऊ मन मारी-मारी चुप बस्यो। तर त्यस दिन देखि हामी दुवैको मन नपर्ने शिक्षिकामा उनी पहिलो नम्बरमा आईन्।
म कहिलेकाँही निर्दोषको घर पनि जान्थेँ। उसको घर देखेर मलाई मेरो घरमा उसलाई लान मन हुन्नथ्यो। उसको घर पक्की थियो, मेरो घर झिङ्गटिले छाएको माटोको घर थियो। मेरो घरमा टोक्ने कुकुर छ भनेर म उसलाई ढाँटने काम गर्थें। उसलाई मात्र होइन म सबलाई यहि भनेर कसैलाई मेरो घर लान खोज्दिनथिएँ। उसको घर गएको बेला ऊ आफ्नो आमालाई गुनासो गर्थ्यो,’थाहा छ मम्मी, भाष्करको घर ठूलो छ, कत्ति कुकुर पालेको छ। धेरै धनी भएर पनि यो हामीलाई घर नै लाँदैन।’ त्यसपछि उसको मम्मीले जे भन्नु भयो मेरो मानसपटलमा अहिले पनि गहिरिएर बसेको छ। उहाँले, ‘त्यस्तो कुरा पनि गर्छन्? तिमीहरु कोहि धनीगरिब छैनौ। तिमीहरुको घर तिमीहरुको बाबु-बाजेको हो। तिमीहरुको सम्पति भनेको नै पढाई हो। भोलिपर्सी ठूलो भएर राम्रो मान्छे बन्नु, त्यो नै तिमीहरुको धन हो।’ यो सुनेपछी मलाई पनि निर्दोषलाई मेरो घर लग्न मन लाग्यो तर त्यो साईत कहिले पनि जुरेन।
कक्षा ९मा सेक्सन बाँडफाँड भयो। अंग्रेजी अक्षर अनुरुप बाँडफाँड हुँदा म एउटा सेक्सन अनि निर्दोष र प्रतीक अर्को सेक्सनमा परे। त्यसपश्चात हाम्रो मित्रतामा पनि दूरी आउन थाल्यो र १० कक्षा पछि त देखभेट नै बन्द भयो। निकै वर्षपछि फेसबुकमा भेट त भयो तर खुलस्त कुरा अझै भएन। सामान्य कुरा भई त्यतिमै सिमित रह्यो। एक्कासी मैले फेसबुकमा एउटा मीम फेला पारेँ (फोटो तल छ) र मलाई यो दोस्तीको याद आयो। यो मीमले हामीले खाजा खाँदाको १०, २ र सुन्ना तिर्ने कुराको याद गराइदियो। त्योमात्र होइन पुरै ३ वर्षे स्वर्णिम मित्रताको सम्झना गराइदियो।

अन्त्यमा, मलाई के बोध भयो भने कुनै साथ वर्षौं छुटेपनी मीठो हुन्छ । कोही साथी वर्षौंको बिछोड पछि पनि उत्तिकै प्रिय हुन्छ । जस्तो कि त्यो साथी काहीँ गएकै थिएन, ऊ त बस् तिम्रो हृदयको अन्तस्करणमा लुकीरहेको थियो । जब फेरि ऊ भेटिन्छ, तिमीले आफ्नो बालापन भेट्छौ, आँफैलाई भेट्छौ । लुकेका खुसी भेट्छौ । जीवनको सादापन भेट्छौ। त्यो निर्दोष बालापनको प्रतीक सायद हाम्रो यहि मित्रता हुनपर्छ।
पुनश्च :
यो लेख प्रकाशित गरेपछि निर्दोषले पनि आफ्नो सम्झनाको पोको यसरी फुकायो :
“स्कुलमा टेबलटेनिस खेल्दा सबै जनाको दुई जना पार्टी हुन्थ्यो, तँ र म एउटा पार्टी थियौँ, हामीलाई हराउन सबैलाई हम्मेहम्मे हुन्थ्यो, पछि सेक्सन फेरिएपछि म बास्केटबल तिर लागें, तँ अझै टि.टी खेल्थिस् | पछि एउटा टुर्नामेन्ट भयो जसमा म फस्ट राउण्डमै आउट भएं, तँ फाइनलमा पुगिस् | त्यसबेला तँ म भन्दा निकै राम्रो खेल्ने भएको थिईस् | तँ फाइनलमा पुग्दा मलाई म नै पुगेजस्तो लागेको थियो | म निकै खुशी थिएँ | मेरो पनि अर्को तिर गेम थियो, तेरो गेम हेर्न पाइन, पछि भाष्कर हार्यो रे भनेको सुन्दा सारै दुख लागेको थियो | तँलाई जित्ने केटासँग मैले फेरी एक दिन खेलेको थिएँ, यसलाई मैले हराउनै पर्छ जस्तो लाग्यो | निकै मेहेनत गरेर खेलेँ (यो कुरा तँलाई थाहा छैन) | त्यो सँग मैले १०-११ डिउस पछि हारेँ | म सधैं कम्पिटिसनहरुमा भाग लिने हुनाले हारजीत त्यति ठूलो लाग्दैनथ्यो तर त्यो दिन मलाई सारै दुख लाग्यो किनकि मैले त्यो दिन तेरो लागि खेलेको थिएँ |”
हिंडी रहने बाटो त बिराउने गरिन्छ भने कहिले पनि नहिंडेको र कुनै म्याप अनि गाइडको सहारा बिना हराउनु भनेको आश्चर्यजनक कुरो पनि भएन | काठमाडौँकै डाँडा-काँडा हुन् या पर बिकटका ठाउँ या विश्वका जुनसुकै ठाउँ हुन्, जताततै – मान्छेहरुले बाटो बिराउने अस्वभाविक होइन | हाईकिङ्ग र ट्रेकिङ्गका क्रममा हराएर बेपत्ता भएका सयौँ मानिस यसका दृष्टान्त हुन् | घुम्ने क्रममा मान्छे किन हराउँछन् भन्ने कुराको छानबिन गर्दा अनेक कमीकमजोरीमा प्रकाश पर्न जाला; चाहे त्यो घुमन्तेकै कमजोरी होस् या अरु कसैको | म आफैं पनि अनेक ठाउँ घुम्न थालेको १ दशक भन्दा बढी भएको छ र म पनि धेरै चोटी बाटो बिराउन पुगेको छु | धेरैबेर बाटो बिराएर भौंतारिएको ४ प्रसङ्ग यस प्रकार छन् :
पहिलो स्थान: फूलचोकी
हाइकरहरु: म स्वयम् र दीपक मामा
कुरा होला सन् २०११-२०१२को, हामी दुई मामाभान्जा फूलचोकीको डाँडा चढ्न भनेर सवेरै उठेर लाग्यौं गन्तब्यतर्फ। गोदावरीबाट उकालो लाग्दा, दुई वटा बाटो थिए; एक, गाडी कुद्ने घुमाउरो ठूलो बाटो अनि अर्को, छोटो बाटो जङ्गल छिचोल्दै उकालो लाग्ने सानो बाटो। हामीलाई जेठको चर्को घामले स्वागत गरी रहँदा घुमाउरो लामो बाटो जाने मन भएन, त्यसैले हामी जङ्गलभित्र बाट उकालो लाग्यौं। म २०-२१ वर्षे ठिटो भएपनि मामा जो ३२ -३३ को हुनुहुन्थ्यो मभन्दा निकै फिट हुनुहुन्थ्यो। दैनिक १०किमी जति उहाँ कुद्नु हुन्थ्यो बिहानै। त्यसैले त्यस्तो मान्छेलाई पछ्याउन मलाई हम्मे-हम्मे नै परेको थियो। म स्याँस्याँ गरेको देखेर उहाँ मलाई अर्ती दिनुहुन्थ्यो – ‘भान्जा, बिस्तारै हिड्ने तर निरन्तर हिड्ने गर्नुपर्छ, जति बस्यो उति हिंड्न गाह्रो हुन्छ। अनि नाकले शास फेर्नु। ‘ मामाले जसोजसो भन्नुहुन्थ्यो म त्यसै गर्थें।
करिब ३ घण्टामा बाटो भरी फोटो खिच्दै, कट्याक-कुटुक खाँदै, रमाइलो गर्दै हामी फूलचोकी माताको दर्शन गर्न माथि पुग्यौं | अमेरिका र क्यानाडा बसाई पछी नेपाल फर्किनु भएको मामाको फोटोग्राफीमा सौख थियो | आफुले भिरेको महँगो डी.एस.एल.आर. क्यामेराले धौलागिरी, अन्नपूर्ण, लाङटाङ, गौरीशंकर, सगरमाथासम्म कैद गर्नुभयो | हामीलाई नाम थाहा नभएका अन्य हिमालहरुपनि क्यामेरामा अटाए | मनोरम दृश्य देख्न पाएकोमा उहाँ गदगद हुनुहुन्थ्यो र म अनेकौं बोट-बिरुवा, चराचुरुंगी अनि काठमाडौँलाई २९०० मिटर माथि बाट हेर्न पाउँदा फुरुङ्ग थिएँ | माथि बसी हामीले आँफुले बोकेको खाजा-नास्ता खोलेर खान थाल्यौँ। सानीआमाले र माइजुले मिठा-मिठा कुरा हाल्दिनु भएको रहेछ। केही बेरको आनन्द पश्चात, काठमाडौँको सबैभन्दा अग्लो डाँडाबाट ओरालो झर्न थाल्यौं हामी, मनमा अनेक रमणीय पलहरु संगाल्दै |
झर्दै जाँदा पो थाहा नै नपाई हामी अघि आएको बाटो भन्ने ठानेर, अर्कै सानो बाटो तिर बाट ओरालो लागेछौं | केहि बेर झरे पछी निकै ठाडो ओरालो आयो र यो अघि उक्लेको बाटो होइन भन्ने निष्कर्षमा पुग्यौं | तर त्यहाँ बाट पनि त कुनै बाटो भेटिएला भनेर भिरमा चिप्लेटी खेल्दै तल झर्यौं | जति तल जान्थ्यौं उति बाक्लो जङ्गलले हामीलाई घेर्थ्यो | के गर्ने भनेर हामी एकअर्कालाई हेर्न थाल्यौं | पुनः माथि नै उक्लिने हामीसँग विकल्प थिएन किनभने नाक नै ठोकिने भिरालो बाटो चिप्लेटी खेलेर हामी तल झरेका थियौँ। अब त्यहि बाटो उक्लिन त असम्भव नै थियो। सन् २०१८को फेब्रुअरीमा, काठमाडौँ – फूलचोकीको डाँडामा विद्यालयबाट हाईकमा आएका १७ वर्षीय जोन ७ दिन हराएर आठौँ दिनमा सकुशल भेटिएका थिए । अहिले सोच्दा सायद जोनपनि हामीजस्तै एउटा गलत बाटो समाउन पुगेका थिए।
निकै बेर सोचे पछि, हामीले जुक्ति निकाल्यौं, छेवैमा बगेको खहरे हुँदै तल झर्यो भने पक्कै तल पुगिन्छ भन्ने विश्वासका साथ हामी पानीले जता डोहोराह्यो त्यतै लाग्यौं। तर दुर्भाग्य, के भयो भने झण्डै एक तला जस्तो झरना जस्तो ठाउँमा गएर हामी टुंगियौं। झरना भएकै ठाउँमा हामफाल्ने कुरो थिएन किनभने पानी कम, ढुङ्गा ज्यादा थिए त्यहाँ | त्यहि भएर छेऊ बाट अरु विकल्प खोज्न थाल्यौं हामी। त्यसै बखत, मामालाई कुन्नि के सोच आएछ, निकै गहन मुद्रामा म तिर हेर्नुभयो र भन्नुभयो, ‘म शशीलाई फोन गर्छु।’
त्यसो भनेर माइजुलाई फोन गरेर हामी हराएको कुरा तर बाटो छिट्टै पत्ता लाग्ने कुरा गर्नुभयो अनि राख्नु अघि, यो कुरा आमालाई नभन्नु आत्तिनु हुन्छ भन्नुभयो। त्यस पश्चात, मामा केहि हँसिलो देखिनुभयो। मामालाई जिस्काउँदै हामी तल झर्ने विकल्प खोज्न थाल्यौं। सौभाग्यबस, त्यो कान्ले भीरमा एउटा रुख ठ्याक्कै हातले भ्याउने ठाउँमा रहेछ । मामा रुख चढेर पोल डान्स गरे जसरी नागबेली घुम्दै तल झर्नु भयो। मलाई त्यसरी झर्न नआउने भएकाले हाम फाल्ने निधो गरें | मामाले हुन्न भन्दै हुनुन्थ्यो, ‘तिम्रो गोडा भाँचियो भने हराएको बाटोमा तिमीलाई बोकेर बाटो खोज्न सक्दिन म भान्जा’ | मैले, ‘यति त म घरतिर हामफराली रहेको हुन्छु, चिन्ता नगर्नु भन्दै हाम फालें।’
केहि बेर हिँडे पश्चात, एउटा तेर्सो बाटो भेटियो जुन बाटो प्रयोगमा आएझैं देखिन्थ्यो। अनि त्यसैलाई सहि बाटो ठानी हामी त्यो बाटोले जता-जता डोहोराह्यो उतैउतै लाग्यौँ। केहि बेरपछी हामी गोदावरी वनको फेदमा पुग्यौं | खुसीको सीमा थिएन त्यस बखत। हामी हाँस्दै सरासर घर लाग्यौं | मामालाई सायद माइजुलाई गम्लङ्ग अँगालोमा बाँध्न आतुरी भएको थियो |
दोस्रो स्थान: चम्पादेवी
हाइकरहरु: म, आशिष बस्ताकोटी अनि रोशन डल्लाकोटी
सन् २०१५ तिरको कुरा हो, हामी ३ जना चम्पादेवीमा क्याम्पिंग गर्न तम्सियौं | माघको मध्ये जाडोमा क्याम्पिंग सोच्दै क्या रमाइलो, आहा ! तातो रगत, सोच्यो त सोच्यो, गरी पनि हाल्न पर्ने | त्यसैले शनिबारको दिन पुरानो बसपार्कबाट दक्षिणकालीको गाडी चढेर हामी फर्पिंगको चम्पादेवी मन्दिर जाने दोबाटोमा झर्यौं | १ बजे त्यहाँ पुगेका हामी, नजिकैको होटलमा केहि चमेना गरेर २ बजे डाँडा चढ्न थाल्यौँ | चम्पादेवीमा क्याम्पिंग पहिलो अनुभव भए पनि, भ्रमण चाहिँ मेरो दोस्रो थियो | दीपक मामा र मैले फूलचोकी घुमेकै बेला-बखत तिर चम्पदेवीको डाँडा पनि नापी सकेका थियौं | त्यहि अनुभवका साथ त्यो यात्रामा मेरो अगुवाई थियो | ३ मनपेट मिल्ने साथीहरुसँग गफ गर्दै, फोटो खिच्दै, रमाइलो गर्दै जाँदा यात्रामा थकाई भन्दापनि एक भिन्न प्रकारको ऊर्जा महसुस गर्दै थियौं हामी |

जाँदाजाँदै चम्पादेवीमा रात बस्ने हामी बाहेक अरु कोहि नहोस् भन्ने कामना गर्दै अघि लाग्यौं | ६ बज्ने बेला जब चम्पादेवी पुगियो अनि जंगल भित्रको डरलाग्दो सून्यता अनि निख्खर कालो रातले स्वागत गर्यो तब अघि कामना गरेको कुरामा थकथक लागिरह्यो | मनमनै ‘अरु मानिसहरु पनि भएको भए हुने’ भन्ने कुरो लागिरह्यो | रात परिसकेपछी दाउरा खोज्ने काम सहज थिएन, फेरी फरक्क फर्कदा ठाउँठाउँमा राखिएको फोहोर संकलन गर्ने ‘सेतो बोरा’ देख्दा झसङ्ग भइन्थ्यो | यहि त्राशलाई हलुका पार्न मैले ठट्टा गर्ने निर्णय गरें | “दाउरा खोज्ने क्रममा कोहि मानिस रुखमा झुण्डिरहेको रहेछ भने के गर्ने केटा हो?” भनेर मैले भनेको मात्र के थिएँ, मलाई झण्डै भकुरेका थिए साथीहरुले |
मन्दिर छेऊमा रहेको जस्ताको छत मुनि टेन्ट हालियो अनि दाउरा मज्जाले बाल्दै गफिन थालियो | ल्याएको खानेकुरा खाँदै अनि मिठो कुराकानी गर्दैगर्दा चिसो बढ्दै गयो। घडीले १०:३० हानेपछि हामी सुत्यौं, जम्मा ३ जना भएकाले धेरै अबेर सम्म नबसी सुत्ने निर्णय गरियो; दुई जना अट्ने टेन्टमा ३ जना सुतियो | राती शीत चुहिएर मेरो देब्रे पाखुरा भिजिरह्यो, चिसो लागिरह्यो | अरु दुईजना घुरिरहे, म त्यसलाई सङ्गीत मानी सुनिरहे, २ बजेपछाडी सङ्गीतले लट्ठ पारेछ क्यारे, म निदाएछु | बिहानै उठेर चम्पदेवी मन्दिरको दर्शन गर्यौं अनि फोटो खिच्यौं। आफुसंग भएको पानी र केहि खानेकुरा खाई मच्छेगाउँ झर्ने योजना बुन्दै हामी लाग्यौं मास्तिर | केहि बेर हिंड्ने बित्तिकै आउनुपर्ने झर्ने बाटो, तर झनझन् उकालो आउँदा मन झसङ्ग भयो | हामीले मच्छेगाउँ झर्ने बाटो कतै बिराइसकेका थियौँ |

अब हामीसंग दुई विकल्प थिए, कि फर्किनु पर्यो कि त त्यहि बाटो रोज्नु पर्यो जसले हामीलाई कता डोहोर्याउँछ त्यो यसै भन्न सकिन्नथियो । तीनैजनाको एकै बोली भयो: उकालो नै चढ्ने किनभने हामीसँग पर्याप्त समय थियो । समय त पर्याप्त थियो तर पानी थिएन, उकालीमा मुख प्याकप्याक्ती सुक्तै गयो – हामी उकाली लाग्दै गयौँ । चढ्दा-चढ्दै भस्मासुर डाँडा पुगियो । वरपर भन्दा अग्लो डाँडा, निकै मनोरम दृश्य देखिने ठाउँ पुगेर मन निकै आनन्दित भयो । “आहा, बाटो बिर्सेर पनि कति सुन्दर ठाउँ आइपुगियो ।” रोशनले काठमाडौँ खाल्डोको मनोरम दृष्य एकटकले हेर्दै भन्यो । सायद, अंग्रेजीमा ‘Serendipity’ यसैलाई भन्छ मैले मनमनै गमें ।
उत्तरतिर हिमाल एकछेउ देखि अर्को छेऊ सम्म सेता हाँसेका एउटा अद्भुत एवं मनोरम दृश्य हेर्दै हामी निकैबेर बस्यौँ । हामी तीनै जना एकदम चुप थियौँ – आँखा एकटक त्यो प्रकृतिको अलौकिक सौन्दर्यतामा लठ्ठ थियो । माघको चिसो हावा अनि चर्को घाम दुवै हाम्रो यो मौन आनन्दका साक्षी थिए । अरु साथीहरुलाई के भैरहेको थियो मलाई पत्तो थिएन, होस् पनि कसरी म आफैंलाई के भैरहेको थियो त्यो नै मलाई पत्तो थिएन। परमानन्दको चरम सीमा चुमेको थिएँ सायद मैले। मैले दुई साथीहरुलाई पालैपालो हेरेँ। दुवैले उसै गरी मलाई हेरे अनि हामी तीनै मुसुक्क हाँस्यौं। खुशी बाँड्दा झन् बढ्यो । यो साथ कहिले नि नछुटोस् , यो प्रेम अमर रहोस् यस्तै यस्तै सोच आयो मनमा। कति अनौठो है? यो सोच, यो फिलिंग पहिले नै नभएको होइन, तर हाम्रो फिलिंगलाई हाम्रो मनको गहिरो इनारबाट झिक्न मलाई कत्रो डाँडा चढ्न पर्यो।

निकैबेर हामी त्यसरी नै बस्यौँ। जब प्यासले झनझन हाम्रो घाँटी सुक्दै गयो तब धेरैबेर बस्न नहुने कुरा गर्दै हामी जुन बाटो गएको त्यहि बाटो झर्ने निर्णय गरियो। किनभने हामीसँग अब अरु जोखिम मोल्ने न त समय थियो न त पानी। आधा-घण्टा हिँडेपछि हामी तीनैजना रोकियौँ अनि पानीको बिकल्प खोज्न थाल्यौँ। मैले मेरो झोलाबाट अघिल्लो दिन आमाले निकै प्रेमसँग राखिदिनुभएको मुलाको अचार (खल्पी) निकालेँ र खाएँ। मुख नै रसिलो भयो र जति चुस्यो उति आनन्द आउन थाल्यो। हामीसँग अघिल्लो दिनको नसकिएको बियरको क्यान पनि थियो। बियर र मुलाको रसिलो चाना चुस्दै हामी झर्यौं । कतै न-अडिई ओरालो झर्दै गर्दा हामीले बिहान बिराएको मच्छेगाउँ झर्ने दोबाटो देख्यौँ। उति साह्रो प्रयोगमा न-आएको कारण छोपिएको रहेछ झ्याङ्गहरुले।
त्यहिँ पसारिएको बाटो नदेखेकोमा थुक्क र धन्य दुवै हुँदै हामीले मच्छेगाउँलाई आफ्नो गन्तव्य बनायौँ। बाटो भेटिएको खुसियालीमा करिब एक घण्टाको ओरालो यति चाँडो बित्यो कि हामीलाई निमेषभरमै मच्छेगाउँको पुष्पलाल पार्क पुगे जस्तो लाग्यो। एउटा पसलमा छिरेर सबैले आफ्नो प्यास मेटाउने निर्णय गर्यौँ अनि ३ बोतल पानी घटाघट पियौँ। पानी पिएर रोशनले पर क्षितिजमा टोलाएर हेर्दै भन्यो, ‘ओहो, क्या रोमान्चक क्यम्पिङ्ग गरियो।’ आशिष र म एकअर्कालाई हेर्दै मुसुमुसु हाँस्यौं। रोशनले टोलाएर हेरेको क्षितिजमा हामीले पनि एकटक हेरीरह्यौँ।
क्रमश ,,,, (अरु दुई किस्सा अर्को पोस्टमा आउनेछ)
याद है तुम्हे वह शादिकी रात?
बरसों कि तमन्ना जब पूरी हुई थी,
तुम और मैं – लिपट के एकदूजेमे
ऐसे खो गए कि पता ना चला
सुबह कब होगया ।
मैं आज भी, हर रोज – जब
अपने आंखे खोलता हूं –
तुम्हे उसी दुल्हन के रूपमें पाता हूं ।
जब रातकी बातें सब याद करके,
तुम शरमाने लगती हो –
मेरे सूरज तुम्हारे चेहरे से निकल आता है –
मेरे सुबह हो जाता है ।
– भाष्कर ढकाल
![]() |
| तस्वीर सौजन्य: https://www.jossandmain.com/decor-pillows/pdp/farmhouse-cow-sketch-wrapped-canvas-print-on-canvas-aggr7962.html?piid=22828531%2C22828526 |
त्यो भन्दा नि खुलेको छ,
मेरा बाको सेता दन्त लहरा
सायद, ती फुलेका झुलेका पहेँला तोरी भन्दा पनि राम्रो लाग्यो बालाई
त्यो पहेंलो सर्ट लगाउने सानो मनुवा
फेरी लाग्छ,
मेरा बाको नजरमा
ती फुलेका फगत पहेँला फूल होइनन्
ती त उनकै पुत्र हो ।
मेरा बाले रोपेर फक्रेका पुत्र ।
मेरा बा,
सन्तान बीच घेरिएर दङ्ग छन्
आफैंले गोडमेल गरी फक्रेका सन्तान ।
आज यो तस्वीर नियाल्दा,
एउटा पुत्रको नजरबाट,
म ती तोरीका फूलमा
बुवाका हाँसो अनि खुसी देख्छु
मेरा बाले,
आफ्नो खुसी, उदाङ्गो आकाश ले
छोप्न नसक्ने गरी छर्दिनु भएछ ।
त्यसैले,
म आजपनि
हरेक तोरीबारीमा मेरा बाको
खुसी फक्री रहेको पाउँछु
र म प्रफुल्लित हुन्छु
त्यो तस्वीरको पहेंलो सर्ट लगाउने
सानो मनुवा जस्तै ।
त्यो क्षितिजमा भेट मलाई
जहाँ साँझले रङ्ग पोत्दै छ
फाल्गुणको शीतल बतास बनि आऊ
अनि खेलौँला हामी प्रेमको होली
सातैवटा रङ्गहरू प्रकृतिसँग उधारो मागी
त्यो गगनमा भेट मलाई
जहाँ निशाले ताराहरु बिस्कुन लगाएकी छिन
पुर्णिमाको चन्द्रमा बनि उदाउँदै आऊ
अनि छर्नु कालो रातमा मधुर मुस्कान
भाष्करसँग थोरै प्रकाश उधारो मागी
त्यो बिहानमा भेट मलाई
जहाँ कर्कलाले शीतलाई मोती बनाएको छ
चरी बनि भुर्र उडेर आऊ
अनि गाउनु तिमीले प्रेमगीत
कोइलीसँग मीठो धुन उधारो मागी
त्यो सपनीमा भेट मलाई
जहाँ तिमी र म एकसाथ रमेका छौं
ब्रह्माकै सुन्दर सृष्टि बनि तिमी आऊ
अनि छर्क हाम्रो जीवनमा सुगन्ध
कोटी-कोटी फूलहरुसँग सुवाष उधारो मागी
आज साँझ पशुपतिनाथ पुग्दा
मलाई बाको झल्झली सम्झना आयो
सायद बाले पनि सम्झनु होला
मलाई अनि पशुपतिनाथलाई
र पशुपतिनाथले पनि बालाई |
सधैँ बेलुकी जो जानु हुन्थ्यो
भगवानको दर्शन गर्न |
एउटा भक्तको सम्झना भगवानलाई किन नआउँदो हो?
एउटा भक्तलाई भगवानको सम्झना किन नहुँदो हो?
आज,
पशुपतिनाथलाई एकटक हेरिरहँदा
मलाई, बासँग परस्पर भेट भए जस्तै भयो
न्यानो अनुभूति भयो
सायद, बाले पनि पशुपतिनाथलाई छातीमै टाँसेर
अमेरिका जानु भएको छ,
नत्र पशुपतिनाथको समीप पुग्दा
मलाई पिताको जस्तो न्यानोपना कदापि मिल्ने थिएन
मैले मेरा बालाई अङ्कमाल गरे जस्तै |
असीम प्रेमभावमा डुबी रहँदा
पशुपतिनाथमा मैले बाको मुहार देखें
बाको मुहारमा पशुपतिनाथ देखें ।
हुन पनि,
एउटा भोला अर्को भोलासँग फरक
कसरी हुन सक्थ्यो र?
मेरा बा भोला, मेरा बा पशुपतिनाथ ||