ठिक हो, जब मनमा गोविन्दको बास हुन्छ, तब मन नै गोविन्दमय हुन्छ। जब मनै गोविन्दमय हुन्छ तब हरेकमा गोविन्दको दर्शन हुन्छ। कोहि अलग लाग्दैनन्। ऊ नै गोविन्द, म नै गोविन्द, मनै गोविन्द – सबै गोविन्द।
ऊ नै गोविन्द, म नै गोविन्द – मनै गोविन्द – सबै गोविन्द
Musings of the lost poet
ठिक हो, जब मनमा गोविन्दको बास हुन्छ, तब मन नै गोविन्दमय हुन्छ। जब मनै गोविन्दमय हुन्छ तब हरेकमा गोविन्दको दर्शन हुन्छ। कोहि अलग लाग्दैनन्। ऊ नै गोविन्द, म नै गोविन्द, मनै गोविन्द – सबै गोविन्द।
तिमीले निकालेका हरेक वाणी हाम्रालागी गीत भन्दा प्यारो छ। हामीले सिकाएको दुईचार शब्द बोलिहाले पनि हामीले नबुझ्ने भाषामा तिम्रो दोहोरो संवाद जारी छ। एकमनले लाग्छ तिमी चाँडै ठूलो होऊ, चाँडै हाम्रो भाषा बोल्ने होऊ। अर्को मनले लाग्छ तिमी सानै भईराख, सरसपूर्ण कलिलो भाकाले हाम्रो जिन्दगीमा तिमी देववाणीमा गीत गाईराख। हाम्रो चाहना जेजस्तो भएपनि एकातर्फ परिवर्तनशील संसारको रीत छ, अर्को तर्फ तिम्रा सुनिरहूँ लाग्ने निश्चल गीत छ। यो कस्तो समय हो छोरा, जीवन प्रति अहिले नाप्नै नसकिने असीम प्रीत छ।
त्यो ‘ आ…मा..’ शब्द सुन्ने बित्तिकै तिम्री आमाको मुहारमा अलौकिक आनन्द र खुसी देखें । सायद तिमीले ‘ बाबा ‘ भनेर शब्द उच्चारण गरेको भए मेरो खुसी त्यो बिन्दुसम्म पुग्ने थिएन जति तिम्री आमाको पुगेको थियो।
त्यो भन्दा नि खुलेको छ,
मेरा बाको सेता दन्त लहरा
सायद, ती फुलेका झुलेका पहेँला तोरी भन्दा पनि राम्रो लाग्यो बालाई
त्यो पहेंलो सर्ट लगाउने सानो मनुवा
फेरी लाग्छ,
मेरा बाको नजरमा
ती फुलेका फगत पहेँला फूल होइनन्
ती त उनकै पुत्र हो ।
मेरा बाले रोपेर फक्रेका पुत्र ।
मेरा बा,
सन्तान बीच घेरिएर दङ्ग छन्
आफैंले गोडमेल गरी फक्रेका सन्तान ।
आज यो तस्वीर नियाल्दा,
एउटा पुत्रको नजरबाट,
म ती तोरीका फूलमा
बुवाका हाँसो अनि खुसी देख्छु
मेरा बाले,
आफ्नो खुसी, उदाङ्गो आकाश ले
छोप्न नसक्ने गरी छर्दिनु भएछ ।
त्यसैले,
म आजपनि
हरेक तोरीबारीमा मेरा बाको
खुसी फक्री रहेको पाउँछु
र म प्रफुल्लित हुन्छु
त्यो तस्वीरको पहेंलो सर्ट लगाउने
सानो मनुवा जस्तै ।
म सानो हुँदा जब म ढिला सम्म सुत्ने गर्थें, मेरो बुवा Bhola मलाई कहिलेकाहिँ उठाउन आउनु हुन्थ्यो | उहाँ मलाई उठाउन मेरो समीप पनि नआई अथवा भनौँ मलाई छुदै-नछोई पर बाट नै एउटा संस्कृतको श्लोक गाउनु हुन्थ्यो |
“शुद्धोसि बुद्धोसि निरँजनोऽसि
सँसारमाया परिवर्जितोऽसि
सँसारस्वप्नँ त्यज मोहनिद्राँ
मँदालसोल्लपमुवाच पुत्रम्।”
यो पुरै गाउँदा सम्म पनि म उठिन भने ‘बाबु उठ’ भनेर कोठाबाट निस्किनु हुन्थ्यो | नउठे पनि म बुवाले गाउनु भएको सुनेर निदाएझैँ नाटक गरी पल्टी रहन्थें | बुवा मलाई उठाउन आइरहनु भयो, म निदाएझैँ श्लोकमा मस्त हुँदै गएँ | अनायसै, यो मेरो मानसपटलमा बस्न सफल भयो | यो श्लोकको प्रथम अनुच्छेद मलाई कण्ठस्त हुन पुग्यो |
बिस्तारै म ठूलो हुँदै गएँ | चाँडो उठ्न पनि थालेँ र नउठे पनि बुवाले मलाई उठाउन छोड्नु भयो | हुर्केको छोरोलाई उठ भन्न कति जानु? कुरा सहि पनि हो | अचेल, भान्जा-भान्जीहरु ढिला सम्म सुतिरहंदा अनि मैले उठाउन पर्दा मेरो दिमागमा पनि यहि श्लोक आउन थालेको छ | म पनि उनीहरुलाई उठाउन यहि श्लोक गाउँदो रहेछु |
गाउँदै/बजाउंदै गर्दा पो झसङ्ग भएँ कि मलाई त यसको मतलब नै थाहा छैन | यो श्लोक कहाँ कुन किताबमा छ पनि हेक्का छैन | कौतुहल हुँदै खोज्ने क्रममा थाहा भयो कि मार्कण्य पुराणमा मदलासा उपदेश छ जहाँ मदलासा भन्ने रानीले आफ्नो सन्तान रुँदा खेलौना जस्ता भौतिकवादी चिजहरुले सन्तान भुलाउनुको सट्टा यो गीत/लोहोरी गाउँदै सत्यको ज्ञान दिई फुल्याउनु हुन्थ्यो | त्यो जीवनको सत्यलाई गीतको रूपमा प्रस्तुत गरी उपदेश दिनुभएकाले त्यसलाई मदलासा उपदेश अथवा मदलासा पुत्र उपदेश भनेर पनि चिनियो |
पहिलो अनुच्छेदको मतलब यस्तो छ:
“शुद्धोसि बुद्धोसि निरँजनोऽसि
सँसारमाया परिवर्जितोऽसि
सँसारस्वप्नँ त्यज मोहनिद्राँ
मँदालसोल्लपमुवाच पुत्रम्।”
Madalasa says to her crying son:
“You are pure, Enlightened, and spotless.
Leave the illusion of the world
and wake up from this deep slumber of delusion”
यो अनुच्छेदबाट प्रष्ट हुन्छ कि मेरो बुवाले पनि मलाई, “तिमी पवित्र छौ, निश्चल, निष्पाप छौ | संसारको मायामा नपर, उठ! संसारिक माया र भ्रमलाई त्याग, यो निद्रालाई त्याग |” भन्दै उपदेश दिनु भएको रहेछ |
अस्तु|
पाँच वर्ष अघि मात्र मैले तिमीलाई यसरी चिठ्ठी लेख्छु भनेर भनेको भए सायद म आफैँ पत्याउँदिन थिएँ | तर आज मैले तिमीलाई चिठ्ठी नलेखी बस्न सकिन | साथीको साथी भन्दा भन्दै आफ्नै मनमिल्ने साथी कति खेर भयौ, त्यो सोच्न जरुरी छैन किनभने तिमीलाई आफ्नो भित्री मनको कुनामा पाउनु मेरो लागि सौभाग्यको कुरा हो | तिमी, तिमी भएकोमा धन्यवाद|
आशिषसँग भेट्दा, तिमी र अंकित सधैँ साथै भेटिने भएकाले तिमीहरुसँग पनि मित्रता प्रगाढ बन्दै गयो | तिमीसँग भन्दा अझ अंकितसँग बढी भेटघाट र घुलमिल भएकाले तिमीसँग भन्दा बढी अंकितसँग लगाव थियो | कपाल लामो पालेको, निधारमा धेरै जसो रुमाल बाँधेको अनि त्यति धेरै नबोल्ने तिमीलाई हेर्दा तिमीसँग मेरो कुरा मिल्दैन कि जस्तो लाग्थ्यो सुरुसुरुमा | फाट्टफुट्ट भेटघाटमा गहिरो मित्रता त भएको थिएन; मित्रताले गहिरो रूप त त्यति बेला लियो जब तिमी र म अन्नपुर्ण आधार शिविर गयौं | आशिष अनि अंकित दुवै नजाने भएपछी म, तिमी र तिम्रा अफिसका सहपाठीहरुसँग घुम्न जान हिच्किचाएको थिएँ | त्यतिका दिन राम्रो चिनजान नभएका मान्छे सँग कसरी जानु भनी मनमा निकै दुविधा थियो | म बरु दोस्रो चोटी आशिष श्रेष्ठ र उसका साथीहरुसँग गोसाइँकुण्ड जान तम्सिएको थिएँ | जब मैले केहि अस्पष्टता जाहेर गरी अन्नपुर्ण आधार शिविर नजाने जस्तो कुरा गरेको थिएँ, मलाई अझै याद छ, तिमीले ‘Damn it Bhaskar! you are going with us’ भनेको | सायद मलाई पनि आश्वाशन मिलेको थियो तिमीले त्यति भनेपछी | म तिमीसँग जान तयार भएँ |
कलंकीमा भेटे देखिन् यात्रा भरी तिमीले जसरी मलाई माया र सद्भाव देखायौ त्यो नै मेरो लागि अमुर्त साथीत्व भयो, प्रेमभाव भयो | भारतीय रास्ट्रपति मोदीले नाकाबन्दी गरेको बेला घुम्न निस्केका हामी, कलंकी देखि झण्डै पोखरा सम्म नै गाडीमा उभिएर पुगेका थियौं | सिट खाली भएपछी मलाई बस भनेर आफु उभिई राखेको, उल्लेरीको उकालोमा आफुले बोकेको ट्रेक्किंग लौरो मलाई दिई, ‘तिमीलाई गाह्रो भयो जस्तो छ, म यत्तिकै हिड्न सक्छु, तिमी यो लौरो टेकेर हिंड |’ भनी भनेको, घोरेपानीमा किनेको ठूलो स्याउ मैले कसैलाई नबाँढी खाएको थिएँ तर तिमीले भने एउटा स्याऊ पनि पहिला मलाई टोक्न दिई अनि मात्र आफुले खाएका थियौ | मप्रति प्रेमभाव/दया प्रदर्शन गरेको यस्ता धेरै उदाहरण छन् | यात्रा भरी मैले तिमीलाई नजिकै बाट चिन्ने मौका पाएँ, जान्ने मौका पाएँ र तिमी भित्रको निश्चलताले आफुँ छताछुल्ल हुन पाएँ | अन्नपुर्ण आधार शिविर नपुग्दै तिमीलाई मेरो मनले असल मित्रको रूपमा स्वीकारी सकेको थियो | तिमी common friend बाट proper friend भैसकेको थियौ | अन्नपुर्ण पछी, चम्पादेवीमा क्याम्पिंग, कालिन्चोक, सुकुटेमा राफ्टिंग,नगरकोट, तिलिचो गरी अनेक ठाउँ हामी सगसंगै यात्रा गरी सक्यौं | विशेष कारणले म तिमीसँग सगरमाथा आधार शिविर जान सकिन, यसको पछुतो मलाई आजपनि छ |
यो भयो विगतका कुरा, अब लागौं वर्तमान तर्फ | सर्वप्रथम, तिमीलाई बधाई अनि शुभकामना, तिमी अस्ट्रेलियामा मास्टर्स गर्न जाने भएका छौ | तिम्रो प्रगतिको कामना गर्दै उताको बसाई सफल र मङ्गल दुवै होस् भन्ने चाहन्छु | आफ्नो देश छोडेर विदेशमा गई पढ्न र काम गर्न पक्कै सहज नहोला, तर तिमी निडर, साहसी र कर्मनिष्ठ मानिस हौ र आइपरेका बाधाहरूलाई तिमीले आफ्नो बुद्धिविवेकले पन्छाउँदै आफ्नो गन्तव्यमा पुगी छोड्छौ भन्ने कुरामा दुई मत छैन | तिमीलाई चिने देखि आजसम्म मैले तिम्रो एउटा पनि अवगुण भेटेको छैन र यो सिलसिला कायम रहोस् | तिमी अस्ट्रेलियामा आफ्नो उद्देश्य पूरा गर्नु, सकेसम्म नेपाल फर्किनु | अब्बल भएर देशमा आफ्नो अब्बलता सदुपयोग गर्नु, स्वदेशलाई पनि सम्बृद्ध पार्ने सपना देख्नु | आफ्नी आमालाई, देशलाई नभुल्नु र म जस्ता साथीभाई लाई पनि मनमै राख्नु | यी त मेरा इच्छा, भित्री मनोकांक्षा र स्वार्थीपना बोलेका हुन् | यसो सोच्छु, तिमी बिनाको मेरा ट्रेक्किंग कति खल्ला होलान्, बुधबार फुटसल पछी भेट्ने चियापसल कति खाली लाग्ला, शनिबार र आइतबार कति निरस लाग्लान्, थिएटरमा लाग्ने फिलिमहरु कति दिक्दार लाग्लान् र अनायासै रातमा पागलजसरी गर्ने karaoke night कति lifeless लाग्लान् | त्यसैले लाग्छ तिमी विदेशमै नहराए हुन्थ्यो | तर त्यसो भन्न कहाँ मिल्यो र? जिन्दगी तिम्रो, दुख तिम्रो, भोगाई नितान्त तिम्रो अनि तिमीलाई यसो गर र उसो गर भन्न हामीले कहाँ मिल्यो र? तिमीलाई जे सजिलो हुन्छ त्यहि गर्नु | मेरो साथ सदैव तिमीलाई छ | माया सदैव छ | बस एउटा कुरा चाहिँ तिमीले ख्याल गर्नु; तिमी सहजै कसैलाई ‘नाइँ’ भन्न सक्दैनौ | विदेशमा कसैले गलत फाईदा उठाउलान्, तिमी नचाहिने कुरालाई अस्विकार गरिदिनु | नाइँ भनिदिनु | सबैलाई रिझाउनु पर्छ भन्ने छैन | बस त्यति कुरा गर्यौ भने तिम्रो चिन्ता लिनुपर्दैन हामीले यहाँ | अरुकुरा तिमीले गर्छौ भन्नेमा म विश्वस्त छु |
तिमीसँगको गहिरो दोस्ती भएको लगभग ३ वर्षे यात्रामा निकै कुरा एकसाथ गरियो | सुख, दुखका सायद हरेक पाटो केलाईयो | तिम्रो मनमा मेरोलागि के स्थान छ म भन्न सक्दिन तर तिमी मेरा लागि असल मित्र मात्र नभई ( म भन्दा कान्छो भए पनि) एक असल दाजु जस्तो पनि छौ किनभने तिमीले मलाई आफ्नो भाई जस्तै माया गरेको छौ | यो कुरा भन्दा मलाई तिलिचोको एउटा घटनाको याद आउँछ | मुस्कान र म अर्कै बाटो लागेर २ घण्टा हराएर तिमीहरु भएको ठाउँमा आउंदै गर्दा, तिमीलाई भेटेको र तिमीले गाली गरेको सम्झना अझै ताजा छ | तिमीलाई देख्दा असाध्यै खुसी र डर एकसाथ लागेको थियो | जस्तो कि केहि गल्ती गरे पश्चात भाइले दाजुलाई भेटे जस्तै | खुसी किन लाग्यो भने, अब आफुँ सुरक्षित भैयो भन्ने कुरा मनमा आएको थियो | डर किन लाग्यो भने अब तिमीले हामीलाई गाली गर्छौ भन्ने ठानेर | नभन्दै त्यस्तै भयो, तिमी यात्राको क्रममा दुईवटा चस्मा हराएकाले चस्मा खोज्दै आउँदा हामीसंग जम्काभेट हुनु र सोझै हामीमाथि खनिनु मलाई निकै रमाइलो लाग्यो | आँखा भरिएर आएका थिए मेरा | “तिमीहरु जान्ने भएर नचाइने बाटो गयौ होइन? हिरो भएर जुनपायो त्यहि बाटो कसले जानु भन्यो तिमीहरुलाई” भनेर तिमीले गाली गर्दा कस्सम कस्तो खुसी लागेको थियो | अब त्यसरी यात्राको क्रममा गल्ती गर्दा, कसले गाली गर्ला रोशन मलाई? तिमी त उता अस्ट्रेलियामा हुनेछौ | खैर, समय भन्दा बलवान कोहि छैन, जसरी समयले हामीलाई साथी बनायो त्यसरी नै जिन्दगीको अनन्त यात्राभर समयले नै हामीलाई र हाम्रो मित्रतालाई बाँधी रहनेछ भन्नेमा म आशावादी छु |
तिमी, म, श्रृष्टी, अंकित अनि आशिष मिली hi5 बनेका थियौं र आशा छ यो मित्रता आजीवन कायम रहोस् | आई विल मिस यु रोशन; सो विल hi5. अझ धेरै ठाउँ सँगै घुम्ने, धेरै मुविज सँगै हेर्ने, धेरै हाँसो सँगै हाँस्ने, धेरै रुवाई सँगै रुने अनि धेरै जन्मदिन सँगै मनाउने सपना बोकी तिमीलाई अस्ट्रेलियामा सफलता मिलोस् भन्ने कामना गर्दै अहिलेलाई यो चिठ्ठी यहिं टुंगाउन चाहन्छु | र तिमी चाँडै नै अस्ट्रेलियाबाट ‘ओइ ढकाल’ भनेर परदेखि हाँस्दै आएको देख्न र सुन्न पाउँ | बस्! मान्छेलाई खुसी हुन धेरै केहि चाहिंदैन | नारायण गोपालले गाएको गीत जस्तै, ‘एउटा साथीको साथले कति फरक पार्दछ जिउनुमा …’
तिम्रो उही साथी,
ढकाल |

It’s midnight and I really craved to listen to this song ‘Love you till the end’ by Pogues. I did. And, instead of mollifying my craving, there was a ripple effect. Of course, what was I thinking? There’s always a ripple effect, isn’t it? Especially when you are not sleeping while the world is busy dreaming. So what’s the ripple effect? Holy Moly! The ripples went afar to trigger the sweet memories of Holly and Gerry. Yes, I wanted to watch P.S. I love you, all of a sudden. I was half way through when the time steadily went on to greet the 2 AM mark, but the craving is too obdurate to settle for anything. There was another craving to write in my blog. So, this is it. I am writing stuffs. Now, the craving has changed its hand. Back to movie again. See ya later.
You might be wondering when I’ll come write next. Yes, I am back now. Holly is reading the letter which Gerry left for her in his parents’ home. Standing right at the Gerry’s Fort, Holly reads the letter where Gerry describes the time they first met. ‘I am lost’, she says to Gerry, while in a state of quandary, after not knowing where she has reached. On the other hand, Gerry looks at her, gets stunned by her beauty and thinks to himself that she is not. This scene is one of my best movie scenes of all time. The chemistry between these two actors in this particular scene is so alluring that I must have watched this particular scene over a thousand times. Seriously. Hey! I am re-watching the scene. Excuse me for sometime though. Till then, why don’t you play the Galway Girl?
I don’t know if you played that song or not, but I finished watching the whole damn movie. Aah! this feels nice. Finally, the craving seems to be subsided. Sometimes, things go down the crazy lane and we go with the flow. Guess what? Happiness seems to come along that way though. Unplanned. Even I would not have predicted in my wildest dreams, let alone planned, to watch this movie at the quietest hour of the night. I might be the only person to watch movies like this alone. To crave for random things; ALONE. Well let me quote Holly’s mother from the movie, “Thing to remember is if we are all alone then we are all together in it too.” I watched the movie alone. You are reading this musing alone. And, at the end, we came together in our alone-ness. Thank you for the time at these odd hours. I crave for sleep now.
P.S. Guess what?
सधैँ कसै न कसैलाई चिठ्ठी लेखी रहने मामाले आज किन हामीलाई चिठ्ठी लेख्यो भनेर आश्चर्य लाग्यो होला र अलि अलि दिक्क पनि | अरुलाई लेखेको चिठ्ठी त नपढे पनि हुने थियो, तर आफैंलाई सम्बोधन गरेको चिठ्ठी कसरी नपढ्नु ? दोधारमा पर्यौ हगी? फेरी चिठ्ठी नि लामो, ‘लास्ट बोरिंग हुन्छ’ भनेर पहिले नै परिकल्पना पनि गरिसक्यौ होला | यो पढ्नु भन्दा अघिनै कत्रो छ चिठ्ठी भनेर हेरी पनि सक्यौ होला, है? सके सम्म म छोटो पार्छु है?
यो लेख्नको लागि मात्र लेखिएको पत्र होइन | केही कुरा अप्रत्यक्ष भन्न पनि यो चिठ्ठीको सहारा लिएको हूँ | किनभने वास्तविक जीवनमा मेरो छवि एक ‘हाउडे’ मामाको रुपमा तिमीहरुको मानसपटलमा बसेको छ | सोझै तिमीहरुलाई यी कुरा भन्दा तिमीहरुले हावामा उडाइदिने सम्भावना बढी भएकाले, यसो गर्न बाध्य पनि छु | ‘बुढा बौलाए कि क्या हो’ भनेर चाहीं नसोच्नु | तिमीहरु ५ जना सबैलाई अहिले यो चिठ्ठीले समेट्न नसक्ला तर जीवनको कुनै न कुनै मोडमा अवश्य समेट्छ | त्यसैले आफुँलाई मिल्ने सन्दर्भ आएमा, मेरो लागि हो भनेर मन-मनै ‘मम’ भन्नु | तात्तातै ग्वाम-ग्वाम खाने पिठोले छोप्या बडा-बडा डल्ला ‘मम’ होइन नि | तिमीहरु ५ मध्ये अनुभव र अदिति अब बुझ्ने भईसक्यौ, आश्ना र अविनभ बुझ्ने हुँदै छौ र कान्छो, आयाम, तिमी त काले कृष्णझैं छौ | यो चिठ्ठी अरुलाई कम, अनुभव र अदितिलाई बढी हो; उनीहरुको उमेरको हिसाबले | जब आशु, अवि अनि आयाम ठूला हुन्छौ तब यो चिठ्ठी तिमीहरुलाई पनि मिल्छ | अब म खुलेर कुरा गर्छु है?
अनु र अदु, यसो सोच्यो, तिमीहरु भन्दा बच्चा त म नै छु | अझै पनि तिमीहरु भन्दा अपरिपक्क काम गर्छु | बोलाई, हिंडाई र काम गराई अझै बच्चा जस्तै छ | तर म बच्चा भई नै रहँदा, तिमीहरु भने धेरै ठूला भई सकेछौ | तिमीहरु र म बीच एक पुस्ताको फरक छ भनेर पनि लाग्दैन मलाई | म त तिमीहरुको साथी भनेर आफुलाई सोच्छु, तिमीहरुले नि त्यस्तै सोचेमा म गदगद हुने थिएँ | किनभने, जब दुई पुस्ता बीच मित्रता हुन्छ तब ‘generation gap’ लुसुक्क घरको झ्यालबाट हाम फालेर आत्महत्या गर्छ | तिमीहरु अब स्कूल सकेर हाई-स्कूल जाँदैछौ | यस वर्ष देखि तथाकथित फलामे ढोका भत्किएको छ तर मलाई बिश्वास छ फलामे ढोका होस् या अरु कुनै, तिमीहरुले कुनै पनि ढोकाको ताल्चा सजिलै फोर्न सक्छौ | अब आउने ढोकाहरुको नाम नहुन सक्छ तर ती सबै भन्दा बढी महत्वपूर्ण ढोका हुन् | फलामे पछी चांदी, सुनको, हिराको भन्ने ढोकाहरु त हुन्नन् तर क्रमश त्यसरी नै महत्वपूर्ण वा भनौं बहुमुल्य हन्छन् | अब जीवनको डोरी तिमीहरुकै हातमा छ | कता लग्ने, कसरी लाने, त्यो सबै तिमीहरुले निर्धारण गर्नु पर्छ |
हाइस्कूल कता पढ्ने भन्दा पनि के पढ्ने भनेर तिमीहरुले सोच्नु | आफुँ के मा अब्बल छु र के गर्न सक्छु वा सक्दिन भन्ने कुरा तिमीहरुलाई थाहा हुन्छ | त्यसै अनुरुप गर्नु | कहाँ पढ्ने भन्ने चिन्ता तिमीहरुले गर्नु पर्दैन, तिमिहरुलाई भन्दा बढी चिन्ता तिमीहरुको आमाबुवालाई हुन्छ | शिक्षित अभिभावक हुनुहुन्छ, वहाँहरुले आफुले सक्दो राम्रो ठाउँमा पढाउनुहुन्छ | मेरा साथीहरु यो पढ्छन् रे, यहाँ पढ्छन् रे भनेर त्यहीं जान्छु अनि त्यहि पढ्छु भनेर जिद्दी नगर्नु | आफुँ केमा राम्रो छु, मेरो सपना के हो भनेर बुझ्नु अनि त्यहि अनुरुप आफ्नो निर्णय सुनाउनु | मेरा दिदी-भिनाजुहरुले तिमीहरुको निर्णयलाई अवश्य कदर गर्नुहुनेछ | डाक्टर, इन्जिनियरमात्र बन्नु पर्छ, अरु विषय केहि होइनन् भन्ने सोच आफुले नि नल्याउनु र आफ्ना बुवा-आमाको त्यस्तो सोच छ भने पनि राम्रोसँग आफ्नो कुरा व्यक्त गर्नु | आफ्नो डाक्टर/इन्जिनियर बन्ने नै सपना छ भने आफ्नो अब्बल्ताको नमुना अहिले देखि नै देखाउनु |
Teen ageको चरम बिन्दुमा छौ तिमीहरु | कलिला माटो हौ तिमीहरु | जता लग्यो त्यस्तै हुने, जस्तो बनायो त्यस्तै हुने | बिग्रिने (वा सप्रने) उमेर पनि यहि हो | साथीहरुको लहै-लहैमा लागेर जथाभावी खाने, जथाभावी गर्ने लहडबाट बच्नु | तिमीहरुले ‘नाइँ’ भन्न सिक्नु | ‘Learn to say no’. आफुँलाई मन नपर्ने वा ठिक नलागेको कुरामा अरुले कर गरे भने ‘no’ भन्न सिक्नु | दुनियामा धेरै दुख आफुले ‘no’ भन्न नसक्दा पाईन्छ | डर नमान्नु, दुर्व्यवहार कसैले गरे भने प्रतिकार गर्नु | आफुले सकिएन भने घरमा आएर भन्नु | मित्रताको कदर गर्नुपर्छ तर कस्तो कुरामा साथ दिंदैछु भनेर मनन गर्नु | यसै उमेरमा प्रेमको छर्राले हान्छ पनि | प्रेम गर्नु, प्रेममा पर्नु नराम्रो कुरा होइन | तर आफ्नो गन्तब्य कदापि नबिर्सिनु | प्रेमले तिम्रो पढाईमा, व्यबहारमा र जिन्दगीमा प्रतिकुल असर पार्छ भने बेलैमा टाढिनु | अंग्रेजीमा एउटा भनाई छ, ‘If it’s meant to be, it will be.’ हुनु छ भने पछी फेरी हुन्छ | माया-प्रेम सकारात्मक कुरा हो तर समय गलत पर्यो भने नकारात्मक असर पार्छ | त्यसैले मेरो लक्ष्य के हो, र म कहाँ पुग्नु छ भन्ने कुरा कहिले पनि नबिर्सिनु |
यसबाहेक यो उमेरमा तिमीले धेरै शारीरिक अनि मानसिक परिवर्तनहरु आत्मसाथ गर्छौ | कतै असहज परिस्थिति आउँदा निर्धक्क र निर्लज्ज भएर आफ्नो अभिभावकसँग कुरा खोल्नु | हामी सबै तिम्रो उमेरबाट गुज्रेर आएका हौँ | हामीलाई सबै थाहा छ के कस्तो परिस्थति सँग जुध्नु पर्छ भनेर | त्यसैले ‘share’ गर्न अफ्ठ्यारो नमान्नु | आएका परिवर्तनहरु संगै आफुँ ठूलो भएको महसुस पनि गर्छौ तिमीहरु | अनि त्यहाँ बाट भ्रम सिर्जना हुन्छ कि ‘म जस्तो जान्ने बुझ्ने कोहि छैन | म सहि अरु गलत | मैले जस्तो संसार अरुले बुझ्या छैनन्, मेरा बुवाआमा पुराना सोचका छन्, मेरो कुरै बुझ्दैनन् |’ यस्ता यावत कुरा आफ्नो दिमागमा आउछन् र आफुँ जस्तो बुद्धिमान कोहि छैन अरु सबै उल्लु भन्ने सोच आउँछ | यी सबै साधारण कुराहरु हुन् यो उमेरमा | तिमी यस्ता भ्रमबाट बच्नु | रिष-राग गर्ने, एक्लै एउटा कुनामा बस्ने, मोबाइलहरु (समाजिक संजाल)मा धेरै समय बिताउने नगर्नु | आफुँ कसरी राम्रो हुन्छु त्यो सोच्नु | फुर्सदमा, कोर्स बाहिरको किताब पनि पढ्ने बानी गर्नु, टिभी मात्र हेर्नु भन्दा बरु घुम्ने बानी गर्नु | Internet मा ज्ञानमूलक कुराहरु खोज्ने गर्नु | ‘Explore’ गर्नु |
अहिलेको जमाना प्रतिस्पर्धी छ; पढाईमा मात्र अब्बल नभएर अरु कुराहरु पनि आफुलाई जाँच्नु | असफलतासँग नडराउनु | आज असफल भयौ भने भोलि सफल हुन सकिन्छ | जीवनले बेसरी पछार्छ बेला-बेलामा | हरेश नखानु | बरु पछारिनु, तर हरेक चोटि पछारिंदा पाठ सिक्नु | कहाँ के गल्ती भएछ ठम्याउनु | लड्नु, निर्धक्क लड्नु, तर उठ्न सिक्नु | जो मान्छे असफलतासँग डराउँदैन, ऊ सधैँ सफल हुन्छ | समाजसँग नडराउनु | कसले के भन्छ भनेर डर मान्नु बेकार छ | संसार स्वार्थी छ; आफ्नो (स्वार्थ) हिसाबले दुनियालाई वर्णन गरिदिन्छ | कसैसंग आफुलाई तुलना नगर्नु | तिमी आफु राम्रो काम गर, निरन्तर आफुलाई राम्रो बनाऊ; अरु कसैलाई हेर्न पर्दैन | सबै फूल कमल वा गुलाफ हुन पर्छ भन्ने छैन | तिमी जाई, जुही, गोदावरी, सूर्यमुखी जे भए पनि हुन्छ | अलग हुन नडराउ | कसैले तिमीलाई अरुसंग तुलना गर्यो र गिराउन खोज्यो भने भनिदेउ कि तिमी अलग छौ | अलग भएर बास्ना छरिदेऊ, त्यहि आलोचना गर्ने संसार तिम्रो वाह-वाहि गर्न बाध्य हुन्छ | तिम्रा सुख, तिम्रा दुख, तिम्रा प्रयास, तिम्रा सफलता, तिम्रा असफलता नितान्त तिम्रा हुन् | यिनले तिमीलाई बलियो बनाउँछन् , त्यसैले तिम्रा भोगाई अतुलनिय छ | यी तिम्रा जीवनमा पाटा हुन् | तिम्रो जीवन अरुको भन्दा कम कदापि छैन |
अदिति, कसैले तिमीलाई तिमी छोरी भनेर हेप्छन्, केटी मान्छेले केहि गर्न सक्दैनन् भनेर उडाउँछन् भने, दबाउन खोजे भने तिमी निराश नहुनु, पछी नहट्नु बरु तिनीहरुलाई आफ्नो प्रतिभा देखाईदिनु | कसैले पनि तिमीहरुलाई हेप्ने अधिकार छैन | कसैले हेप्न आउँछन् भने त्यो अधिकार तिमीहरुले तिनीहरुलाई नदिनु | म यहाँ ‘pursuit of happyness’ भन्ने मुभीको डायलग quote गर्छु है त: ‘“Don’t ever let somebody tell you that you can’t do something. Not even me. You got a dream, you gotta protect it. When people can’t do something themselves, they are gonna tell you that you can’t do it. If you want something, go get it. Period.”
छोटो पार्छु भन्दा भन्दै लामै भएछ चिठ्ठी, त्यसको लागि माफी माग्छु | दरो लेक्चर दियो बुढाले भन्ने भयो होला तिमीहरुलाई तर मेरा जीवनका भोगाई, गराई अनि रोजाई बाट मैले जे सिकेँ त्यो मैले यहाँ व्यक्त गरें | मैले गरेका गल्ती, मेरै यो उपदेश पढेर, तिमीहरुले दोहोराएनौ भने म जस्तो खुसी सायदै कोहि होलान् | निडर भई आफ्नो सपनाको बाटो हिड्नु | पछाडि फर्केर हेर्यौ भने सदा मलाई सहाराको रूपमा पाउनेछौ तिमीहरुले | अहिलेलाई यत्ति ||
उही तिमीहरुको भलो चिताउने,
अनु मामा ||