स्मृति २

बाल्यकालको तस्वीर,
मेरो बा, उहाँको कलिलो छोरो
अनि पछाडी साइकलमा सवार कान्छो दाहाल,
त्यो पहेंलो तोरीबारीमा कति खुलेका ।

त्यो भन्दा नि खुलेको छ,
मेरा बाको सेता दन्त लहरा
सायद, ती फुलेका झुलेका पहेँला तोरी भन्दा पनि राम्रो लाग्यो बालाई
त्यो पहेंलो सर्ट लगाउने सानो मनुवा

फेरी लाग्छ,
मेरा बाको नजरमा
ती फुलेका फगत पहेँला फूल होइनन्
ती त उनकै पुत्र हो ।
मेरा बाले रोपेर फक्रेका पुत्र ।

मेरा बा,
सन्तान बीच घेरिएर दङ्ग छन्
आफैंले गोडमेल गरी फक्रेका सन्तान ।

आज यो तस्वीर नियाल्दा,
एउटा पुत्रको नजरबाट,
म ती तोरीका फूलमा
बुवाका हाँसो अनि खुसी देख्छु
मेरा बाले,
आफ्नो खुसी, उदाङ्गो आकाश ले
छोप्न नसक्ने गरी छर्दिनु भएछ ।

त्यसैले,
म आजपनि
हरेक तोरीबारीमा मेरा बाको
खुसी फक्री रहेको पाउँछु
र म प्रफुल्लित हुन्छु
त्यो तस्वीरको पहेंलो सर्ट लगाउने
सानो मनुवा जस्तै ।

Facebooktwitterredditpinterestlinkedinmail

मेरी प्रिया, श्रृष्टीलाई समर्पित

त्यो क्षितिजमा भेट मलाई
जहाँ साँझले रङ्ग पोत्दै छ
फाल्गुणको शीतल बतास बनि आऊ
अनि खेलौँला हामी प्रेमको होली
सातैवटा रङ्गहरू प्रकृतिसँग उधारो मागी

त्यो गगनमा भेट मलाई
जहाँ निशाले ताराहरु बिस्कुन लगाएकी छिन
पुर्णिमाको चन्द्रमा बनि उदाउँदै आऊ
अनि छर्नु कालो रातमा मधुर मुस्कान 
भाष्करसँग थोरै प्रकाश उधारो मागी

त्यो बिहानमा भेट मलाई
जहाँ कर्कलाले शीतलाई मोती बनाएको छ
चरी बनि भुर्र उडेर आऊ
अनि गाउनु  तिमीले प्रेमगीत
कोइलीसँग मीठो धुन उधारो मागी

त्यो सपनीमा भेट मलाई
जहाँ तिमी र म एकसाथ रमेका छौं
ब्रह्माकै सुन्दर सृष्टि बनि तिमी आऊ
अनि छर्क हाम्रो जीवनमा सुगन्ध
कोटी-कोटी फूलहरुसँग सुवाष उधारो मागी

Facebooktwitterredditpinterestlinkedinmail

बा

आज साँझ पशुपतिनाथ पुग्दा
मलाई बाको झल्झली सम्झना आयो
सायद बाले पनि सम्झनु होला
मलाई अनि पशुपतिनाथलाई
र पशुपतिनाथले पनि बालाई |
सधैँ बेलुकी जो जानु हुन्थ्यो
भगवानको दर्शन गर्न |
एउटा भक्तको सम्झना भगवानलाई किन नआउँदो हो?
एउटा भक्तलाई भगवानको सम्झना किन नहुँदो हो?

आज,
पशुपतिनाथलाई एकटक हेरिरहँदा
मलाई, बासँग परस्पर भेट भए जस्तै भयो
न्यानो अनुभूति भयो
सायद, बाले पनि पशुपतिनाथलाई छातीमै टाँसेर
अमेरिका जानु भएको छ,
नत्र पशुपतिनाथको समीप पुग्दा
मलाई पिताको जस्तो न्यानोपना कदापि मिल्ने थिएन 
मैले मेरा बालाई अङ्कमाल गरे जस्तै |

असीम प्रेमभावमा डुबी रहँदा
पशुपतिनाथमा मैले बाको मुहार देखें
बाको मुहारमा पशुपतिनाथ देखें ।
हुन पनि,
एउटा भोला अर्को भोलासँग फरक
कसरी हुन सक्थ्यो र?
मेरा बा भोला, मेरा बा पशुपतिनाथ ||

Facebooktwitterredditpinterestlinkedinmail

दशैं

मेरा मनका मायाका लहरा
ला…………..मो पारेर
चङ्गामा बाँधी
तिमी भए तिर उडाउनलाई
भिसा चाहिन्छ कि चाहिन्न होला?

अचेल नेपालका आकाशमा
खोई र चङ्गाहरु?
अब बल्ल बुझ्दै छु
ती त धागोमा होइन
मायाको लहरमा गाँसिदै
कुनै अरब, कुनै अमेरिका
कुनै युरोप र कुनै अष्ट्रेलिया
पो जाँदा रहेछन्  |

निला, छ्याङ्ग खुलेका आकाश
दशैँ आयो भन्छन् सबै |
तर म त देख्छु,
उराठ लाग्दो नाङ्गो रित्तो आकाश,
आमाबुवाको आशिष थाप्दै रंगीन खोज्ने
खाली, रित्तो निधार ..

दशैं त तब पो आउंथ्यो
जब शिरमा आमाबुवाको हात हुन्थ्यो
निला आकाशभन्दा पनि खुलेकी
आफ्नी प्रियसीको, साथ हुन्थ्यो
अनि पो दशैं,
दशैँ हुन्थ्यो ||    

Facebooktwitterredditpinterestlinkedinmail

माया त यस्तो होस्

माया त यस्तो होस्
कि प्रतिकुलतामा झन् सुवास छरोस् |
फुलेको फूल, उदाएको जून
कसलाई पो मन पर्दैन र?
माया त यस्तो होस्
कि उजाडतामा पनि हरियाली होस्
कालो बादल बीच मुस्कानका रेखा बनोस् |

मै हाँसेको बेला को पो लठ्ठ छैन र?
माया त यस्तो होस्
कि उदासीनतामा पनि चट्ट होस् |
हाम्रो प्रेम देखेर
अरुको मन पनि कटक्क होस्,
माया त यस्तो होस् |

बन्द कोठामा प्रेमको राँको
जसले नि बाल्दो हो,
माया त यस्तो होस्
कि दूरीमा पनि मुरी होस् |
घर भनेको आखिर प्रेमको आभाष न हो;
जहाँ तिमी र म हुन्छौं
त्यहीं हाम्रो धुरी होस् |

समय सधैँ कहाँ एकनासको हुन्छ र?
नचाहे पनि त कहिले टाढा हुन पर्छ
माया त यस्तो होस्
कि टाढा हुँदा नि गाढा होस्
जब मेरो जिन्दगी नै तिम्रो नामको छ
क्षणिक दूरिमा कुनै पिर नहोस् |

सम्बन्ध हाम्रो यस्तो होस् कि
हामी दुईलाई विश्वासले बाँदोस्
आखिर माया नि त विश्वासमै अडेको छ;
माया त यस्तो होस्
कि तिमी मलाई बुझ्नु, म तिमीलाई बुझ्छु
बस,
प्रेम जताउन नपरोस्, बताउन नपरोस् |

Facebooktwitterredditpinterestlinkedinmail

एसिड

यो बर्सादी बादल;
लाग्छ,
मेरो मनको अशिम सपनाहरु हुन्,
उड्दै उड्दै
आकाशमा भद्दा बादल हुन पुगेका |
जब एक पछी अर्को
मैले सजाएका सपना
विफल हुँदै फोहोरको थुप्रो जसरी
गगनमा चाँङग लाग्न थाल्छ,
तब एकै पटकमा तुहिन्छ
मेरा बर्सौं देखिका सपना
आफ्नै भार सहन नसकेर |

बर्सिएका प्रत्यक थोपाले
मेरो शरीर भरी शेष नागले
डसेझैं डस्छ,
र मेरो मनसम्म पुगेका विषालु बाछिटाले
मलाई बेस्सरी पोल्न थाल्छ |
अब त्यहाँ कुनै स्वप्न फुल्न सक्दैन |
मरुभूमिमा हफ्तौं भौंतारिएको
प्यासी जिब्रोमा पानी खन्याउंदाझैं,
जल्न थाल्छ मेरो शरीर |

कठै,
आफ्नै स्वप्न डेट-एक्स्पायर्ड भएर
आफैंलाई सिध्याउने एसिड बन्दो रहेछ |

image source: i251.photobucket.com

Facebooktwitterredditpinterestlinkedinmail

मलाई नारी बन्न मन छ

कहिले काहिँ मलाई आफ्नो
पुरुषत्व त्यागेर
नारी हुने तिर्सना उर्लेर आउँछ |
छाँटिलो शरीरमा
उच्च स्तन भिरी
आफ्नै छाती फुलाउने रहरले
मलाई गाँजेर ल्याउँछ |
धर्तीका जुनसुकै मै हूँ भन्ने
पुरुषको पनि रौं ठाडो पार्ने
तिलस्मी गुफा आफ्नै टाँङगमुनि च्यापेर
हिड्ने रहरले मलाई झक-झकाई रहन्छ |
अन्तरिक्षमा तारा मरेर बन्ने ब्ल्याक होलको
मलाई के वास्ता?
धर्तीमा तारा जन्माउने अङ्ग
मसँग होस्,
‘नारी भन्दा पुरुष बलवान छन्’
भन्ने सोचको हत्या गरी
आँफै त्यसको श्राद्ध गरी
पिण्डो सेलाउने इच्छा
ममा, कुर्लेर आउँछ |

होला,
पुरुषवादी समाजले दर्साएझैं
नारीले हरेक महिना ‘पाप’ पखाल्नु पर्ला
तर,
आफुँले गरेका पाप आफुँ भित्रै
सदा-सर्वदा संचय गर्नुको साटो,
नारी भएर ती पाप हरेक महिना
ह्वाल-ह्वाल बगाएर
मलाई पवित्र हुन मन छ |
बर्सौं देखिको पापबाट मुक्त भएर
मलाई
निष्पाप हुन रहर छ |
फेरी,
त्यो ‘पाप’ बगाएको केही दिन पश्चात नै
‘काम-बाश्ना’ले भरिएर नारीकै
‘पापी’ टांगमा लम्पसार पर्ने पुरुषको
दोहोरो चरित्रलाई हेरी
अलिकति त्यस तुच्छ प्राणी प्रति
दया राख्दाको आनन्द
मलाई पनि अनुभव गर्न मन छ;
मलाई नारी हुन मन छ |

एउटी नारीबाट जन्म लिई
उसैको रगत चुसी हुर्केर
त्यहि नारी जातलाई नगन्ने
पुरुषको खोल र चरित्र
त्यागेर मलाई,
नारी बन्न मन छ |

Image source: http://www.manojpathak.com/journalist/images/navratr.gif

  

Facebooktwitterredditpinterestlinkedinmail

सपना

बालापनको सपनाको भित्तो च्याती
जब बाहिरिन्छ ऊ,
पछाडि फर्केर एक थोपा आँसु झार्दैन |
ती सपनाहरु मरेका
कैयन दिन भइसके |
केवल तिनका अस्थिपन्जरले
उसलाई तर्साइरहेथ्यो;
आज ऊ,
आफ्नै ‘मिठा’ सपनाको संसारबाट
‘उम्केर’ निराश छैन |

हरेक रात बाँच्न नसकेका  सपनाहरु
न्याय माग्न उसका निन्द्रा बिथोल्छन्;
अब अर्को सपना बुन्न
उसको आत्मबल हारिसक्यो |
त्यहि पनि केहि आशा बटुली
केहि ‘तरल’ सपना मुठ्ठीमा कसी
भाग्य बनाउन खोज्छ ऊ |
संघर्षको हिँडाई धेरै वर्ष हिँडेपछी
हत्केला खोलेर हेर्दा –
सपना, औंलाको कापबाट चुहिएको बर्सौं भएछ |
सपनासँगै अलप हुन्छ उसका उमेर अनि रहर |
पर क्षितिजमा डुब्न लागेको घाम हेर्दै गर्दा,
उसका बुढो आँखाले धमिलो दृष्य देख्छ
आफ्ना बचेका सपनाहरुले डाँडा काट्दै गरेको |
त्यस बखत,
खुब माया लागेर आउँछ उसलाई,
उसका अपूर्ण स्वप्नहरुको |  

Facebooktwitterredditpinterestlinkedinmail

समयको बन्धन भन्दा पर

म,
अहिले पनि कहिले-काँही
जान्छु मन्दिर परिसरमा
आफ्नो अतितमा रुमल्लिन |
जहाँ ऊ र म,
पहिले चढाउंथ्यौं
हाम्रो मायाको पवित्र फूल
देवताको चरणमा |
ऊ घण्ट बजाउंथी,
उसको नाम गुन्जायमान हुन्थ्यो |
दुई हत्केला जोडेर
शिर निहुराई
आँखा बन्द गरेर जब ऊ,
मनमनै,
ईश्वरसंग मेरो लागी खुसी माग्थी,
म पनि मेरो चोखो मनले
उसको सुखको कामना गर्थें |

अहिले पनि,
जब वर्तमान अतितको कल्पनामा
डगमगाउन थाल्छ,
म जान्छु मन्दिर प्राङ्गणमा
सम्झनाका पुष्पहरु
एक-एक गर्दै फुकाउँदै
भगवानको चरणमा अर्पण गर्छु |
कसैले घण्ट बजाइदिन्छ,
उसको नाम गुन्जिन्छ
चारै तिर… सबै तिर…

ठीक त्यो बखत,
भूत, वर्तमान र भविष्य
एउटै सागर बन्छ |
म पौडी रहन्छु,
निरन्तर,
समयको बन्धन भन्दा पर ||

pic source: neverletyoustealmyafterlife.tumblr.com

Facebooktwitterredditpinterestlinkedinmail

उपहार

अन्नपूर्णको लामो यात्रा अघि,
उसलाई मैले सोधेको थिएँ,
उपहार के चाहिन्छ भनि?
हप्तौं लामो यात्रा सम्झी,
केहि अमिलो मन पारी,
मनको भारी बिसाउँदै,
दबिएको आवाजमा,
रुन्चे हाँसो हाँस्दै
उसले भनेकी थिई,
‘न्यानो माया अनि…..’
‘अनि एक मुठ्ठी हिउँ |’

अन्नपुर्णको फेदमा पुगी,
न्यानो मायाको साथ
जब एक मुठ्ठी हिउँ उठाएँ
तब मेरो मायाको न्यानोपनले
हिउँ पग्ली गयो |
हिउँ संगै पग्ले
सारा अभिलाषाहरु
मेरा अनि उसका |

पग्लिएको हिउँलाई मैले
बाफ बनि उड्न दिएँ |
जब म न्यानो माया लिई
फर्कन्छु,
तब उसले मसँग
आफ्नो उपहार  माग्ने छे |
र म दिनेछु उसलाई उसको कोसेली
उसको हिउँ,
जो आकाशमा बादल बनी
बगिरहेको हुनेछ
अविरल |
ऊ जब-जब आकाशमा सेता हिउँ
हेर्नेछे,
र न्यानो प्रेमको अनुभूति गर्नेछे,
सायद तब-तब,
ती हिउँ पग्लेर उसका आँखाबाट
झर्नेछन् |

Facebooktwitterredditpinterestlinkedinmail