ठुलो गर्जन सहित जब आकाश बोल्छ
लोलाएको त्यो धर्तीको आँखा खुल्छ
काकाकुल झैं प्याक्क भएको त्यो मुखमा
बिस्तारै मिठो मुस्कान डुल्छ….
बर्षाको पर्खाइमा मुर्छित उनको,
छिया छिया परेको शरीर छ..
सुकेका ती छालामा, निला ती ओठमा
आशाका सुन्दर फूल फुल्छ
निकै कष्ट भएर पनि,
धर्ती बाचेंकी छिन् त हाम्रा लागी
यस्तो कठिन समयमा कहिँ नभागी..
छातीको दुध होइन यिनले रगत चुसाएकी छिन्
आफु पल पल मरेर हामीलाई बचाएकी छिन्
त्यो त्याग त्यो बलिदान केही नबुझी हामी,
एक–अर्कासंग लड्छौं घरी– घरी
उनको पिंडा बढाउँदै उनकै काखमा कुल्ची,
रगत चुस्न तम्सन्छौँ पेट भरी–भरी
यसरी आफ्नो स्वार्थ पूरा भए पछी पनि
एक वचन सोध्दैनौं हामी ,
“आमा ! तिमीलाई के चाहिन्छ भनि”
युगौं युग सम्म यसरी रगत चुसाउंदा
कसैले नदेख्ने गरी आँसु बर्षाउंदा
यिनी सुकेकी छिन्,
भित्र – भित्रै मरेकी छिन्,
त्यसैले त आज मेघ गर्जदा
यिनको ओठमा मुस्कान छ
नयनमा आशा पलाएको छ
आशा;
आफु बच्ने होइन ,
हामीलाई बचाउने आशा
आशा;
आफु पिउने होइन
अरुलाई पियाउने आशा ,
हामीलाई जियाउने आशा…
तर दुर्भाग्य,
जब प्रतिक्षाको सकिनै लागेको थियो पल
ठुलो बतास आई उडाई लागेछ बादल
उनका ओठका मुस्कान ओइलाई गएछ कठै!!
अनुहारको त्यो ज्योति गुमेछ कति छिट्टै
पानी पिउन भनी खुलेको त्यो ओठ ट्याप्प भएछ
तपक्क आँशु झारिन् उनले, उनलाई असैह्यः भएछ..
लोलायका ती नयन बिस्तारै बन्द हुन्छ
मुर्छित हुदैँ सोच्छिन् उनी,”अब मेरा सन्तानलाई के हुन्छ?”
“अब मेरा सन्तानहरुलाई के हुन्छ?”
Facebook
X.com
LinkedIn
Instagram
Pinterest
More