एसिड

यो बर्सादी बादल;
लाग्छ,
मेरो मनको अशिम सपनाहरु हुन्,
उड्दै उड्दै
आकाशमा भद्दा बादल हुन पुगेका |
जब एक पछी अर्को
मैले सजाएका सपना
विफल हुँदै फोहोरको थुप्रो जसरी
गगनमा चाँङग लाग्न थाल्छ,
तब एकै पटकमा तुहिन्छ
मेरा बर्सौं देखिका सपना
आफ्नै भार सहन नसकेर |

बर्सिएका प्रत्यक थोपाले
मेरो शरीर भरी शेष नागले
डसेझैं डस्छ,
र मेरो मनसम्म पुगेका विषालु बाछिटाले
मलाई बेस्सरी पोल्न थाल्छ |
अब त्यहाँ कुनै स्वप्न फुल्न सक्दैन |
मरुभूमिमा हफ्तौं भौंतारिएको
प्यासी जिब्रोमा पानी खन्याउंदाझैं,
जल्न थाल्छ मेरो शरीर |

कठै,
आफ्नै स्वप्न डेट-एक्स्पायर्ड भएर
आफैंलाई सिध्याउने एसिड बन्दो रहेछ |

image source: i251.photobucket.com

Facebooktwitterredditpinterestlinkedinmail

मलाई नारी बन्न मन छ

कहिले काहिँ मलाई आफ्नो
पुरुषत्व त्यागेर
नारी हुने तिर्सना उर्लेर आउँछ |
छाँटिलो शरीरमा
उच्च स्तन भिरी
आफ्नै छाती फुलाउने रहरले
मलाई गाँजेर ल्याउँछ |
धर्तीका जुनसुकै मै हूँ भन्ने
पुरुषको पनि रौं ठाडो पार्ने
तिलस्मी गुफा आफ्नै टाँङगमुनि च्यापेर
हिड्ने रहरले मलाई झक-झकाई रहन्छ |
अन्तरिक्षमा तारा मरेर बन्ने ब्ल्याक होलको
मलाई के वास्ता?
धर्तीमा तारा जन्माउने अङ्ग
मसँग होस्,
‘नारी भन्दा पुरुष बलवान छन्’
भन्ने सोचको हत्या गरी
आँफै त्यसको श्राद्ध गरी
पिण्डो सेलाउने इच्छा
ममा, कुर्लेर आउँछ |

होला,
पुरुषवादी समाजले दर्साएझैं
नारीले हरेक महिना ‘पाप’ पखाल्नु पर्ला
तर,
आफुँले गरेका पाप आफुँ भित्रै
सदा-सर्वदा संचय गर्नुको साटो,
नारी भएर ती पाप हरेक महिना
ह्वाल-ह्वाल बगाएर
मलाई पवित्र हुन मन छ |
बर्सौं देखिको पापबाट मुक्त भएर
मलाई
निष्पाप हुन रहर छ |
फेरी,
त्यो ‘पाप’ बगाएको केही दिन पश्चात नै
‘काम-बाश्ना’ले भरिएर नारीकै
‘पापी’ टांगमा लम्पसार पर्ने पुरुषको
दोहोरो चरित्रलाई हेरी
अलिकति त्यस तुच्छ प्राणी प्रति
दया राख्दाको आनन्द
मलाई पनि अनुभव गर्न मन छ;
मलाई नारी हुन मन छ |

एउटी नारीबाट जन्म लिई
उसैको रगत चुसी हुर्केर
त्यहि नारी जातलाई नगन्ने
पुरुषको खोल र चरित्र
त्यागेर मलाई,
नारी बन्न मन छ |

Image source: http://www.manojpathak.com/journalist/images/navratr.gif

  

Facebooktwitterredditpinterestlinkedinmail