छोराको गीत

डियर विभु,

तिमी अहिले १०औँ महिनामा कुदी रहेको छौ या भनौँ बामे सरिरहेको छौ। अहिले टेबल/सोफाको साहारामा उभिन र पाईला चाल्न त थालेको छौ तर कुद्नु अघि तिमीले बिना कुनै साहारा उभिनु छ, हिँड्नु छ र मुख्यत आफुलाई सम्हाल्न सिक्नु पर्ने छ। तिम्रो प्रयास जारी छ – आँफूसँगको लडाईं जारी छ। तिमीलाई कुनै परिधिको ज्ञान छैन, तिमीलाई आँफैले आँफैलाई तोक्ने अथवा रोक्ने बन्धनको कुनै आभास छैन। त्यहि भएर त उभिन खोज्दा खोज्दै हजारपल्ट लडेपनि लाखपल्ट कोशिस गरी नै रहन्छौ। फलस्वरूप, तिमी चाँडै नै हिड्ने छौ। पानीले चट्टान फोड्ने सायद तिम्रो जस्तै दृढताले होला है?

खैर! आज म तिम्रो हिँडाईको बारे भन्दा पनि तिम्रा प्रिय गीतहरुको बारे केहि लेख्न खोज्दै छु। तिमीलाई थाहा छ, तिमी तिम्रो आमाको पेटमा हुँदा देखि नै तिमीलाई गीत सुन्न खुब मन पर्थ्यो? हो तिमी पेटमा हुँदा नै तिमीलाई हामीले गीत सुनाउथ्यौँ। तिमीलाई सबैभन्दा मनपर्ने गीत भनेको ‘जय होस् तिम्रो मङ्गल होस्’ भन्ने गीत थियो। यो गीत आनी चोइङ्ग ड्रोल्माले गाउनु भएको हो। यो गीत बजाउने / गाउने बित्तिकै तिमी धेरै खुशी भएर तिम्री आमालाई जोडजोडले लात्ती हान्थ्यौ। यता हामी भने उत्साहित हुँदै पेटमा छाम्दै झन् ठूलो स्वरले गीत गाउथ्यौँ। तिमीपनि खुब खुशी हुँदै हामीलाई गीत मन परेको जनाउ दिन्थ्यौ। तिमी ३० हप्ताको हुँदा अस्पतालको नियमित जाँचक्रममा तिम्रो धड्कन भेट्टाउन मुश्किल भयो। केहि क्षणको प्रयास पछि पनि धड्कन नभेटिंदा तिम्री आमा आत्तिन थालिन्। मेरो मन पनि चिसो भयो तर ठिक त्यसै बखत मैले तिम्रो मनपर्ने गीत ‘जय होस् तिम्रो मङ्गल होस्’ गाउन थालेँ। तिम्रो धड्कन पनि मेशिनमा देखिन थाल्यो। आनीको गीतसँगै फर्कियो हाम्रो खुशी।

तिमीलाई उनै आनीको अर्को गीत पनि खुब मन पर्थ्यो – ‘जान्नु भनेको के हो बाबा?’ बोलको गीतमा पनि तिमी उत्तिकै नाच्थ्यौ (पेट भित्रै)। तिमीलाई मन पर्ने गीत हामीलाई पनि प्यारो भयो। तिम्रो आमा र म नै खुब ती गीतमा मस्त हुन थाल्यौँ। नहुनु पनि किन? एक त तिमीलाई मन पर्ने, अर्को ती गीतहरु नै कति मीठा छन्। शब्द उत्तिकै उम्दा छन्। तिमी नढाँटि भन त, तिमीलाई भाषाको ज्ञात बिना नै शब्दका अर्थ थाहा भई सकेको थियो है?

तिमी भदौ ३ गते जन्मिए पछि भने मैले तिमीलाई मेरो अति प्रिय गायक नारायण गोपालसँग परिचय गराएँ। तिमीलाई आफ्नो काख र छातीमा टाँसी सुताउँदै गर्दा तिमी नारायण गोपालको गीत सुनेर मात्र निदाउन थाल्यौ। म मेरो धोद्रो स्वरमा ‘केहि मिठो बात गर’ भन्दै गुनगुनाउँथें – तिमी सँगसँगै गाउने पनि गर्थ्यौ, तिम्रो आफ्नै भाषामा। एकैछिनमा तिमी निदाउथ्यौ पनि। अहिले पनि तिमी धेरै रोएको बेला यो गीत गाउँदा तिमी चुपो लागेर सुन्न थाल्छौ। निदाउने बेलाको त यो तिम्रो औसधी नै भईहाल्यो। छरछिमेकीले मैले यो गीत गाएको सुने भने अब भने पक्कै ठम्याउन सक्छन् कि म यो गीत तिम्रा निम्ति गाउँदै छु। कोखमा र काखमा हुँदा तिमीलाई फरक-फरक गीत मन परे जस्तै तिमीलाई खाने बेला भने अर्कै गीत मन पर्छ/पर्थ्यो। खाने बेला भने तिमीलाई तिम्रो आमाको मनपर्ने चलचित्र ‘बाहुबली’को गीत ‘काना सो जा जरा’ खुब मन पर्थ्यो। खाने बेला यो गीत नसुनी तिमी पटक्कै खान मानेनौ।

बिस्तारै तिमीलाई ‘नानी एण्ड बाबु’को बालगीत मन पर्न थाल्यो। त्यसपछि तिमी खाँदा, बस्दा, खेल्दा यिनै नानीबाबुसँग रम्न थाल्यौ। यो युट्युब च्यानलका हरेक गीत तिम्रो रोजाईमा पर्यो। मलाई त यति बानी परिसकेको थियो कि अफिसमा काम गर्दा पनि ‘लाली हाम्रो गाई, मिठोमिठो दुध दिने हाम्रो गाई’ भन्दै गुनगुनाउन थालेछु। यति प्रिय बालगोपालको अति प्रिय गीत, मेरो प्रिय कसरी नहोला? एवं रीतले, तिमीलाई एकाध भजन पनि मन पर्न थाल्यो – ‘छोटे छोटे गैया छोटे छोटे ग्वाल’, ‘शंकारा’ अनि ‘बाल गणेश’ मा तिमी दङ्ग पर्न थाल्यौ।

तिमीलाई अझ धेरै गीत सुन्नु छ, कति धेरै सङ्गीतमा मंत्रमुग्ध हुनुछ – त्यो विस्तारै हुँदै जान्छ। तिमीसँगै तिमीलाई मनपर्ने गीतमा नाचिदिउँला, गाइदिउँला। कोख देखि अहिले सम्म तिमीलाई धेरै गीत मन परे – हामीलाई भने तिमी जन्मेदेखि तिम्रो गीत प्यारो छ। तिमीले निकालेका हरेक वाणी हाम्रालागी गीत भन्दा प्यारो छ। हामीले सिकाएको दुईचार शब्द बोलिहाले पनि हामीले नबुझ्ने भाषामा तिम्रो दोहोरो संवाद जारी छ। एकमनले लाग्छ तिमी चाँडै ठूलो होऊ, चाँडै हाम्रो भाषा बोल्ने होऊ। अर्को मनले लाग्छ तिमी सानै भईराख, सरसपूर्ण कलिलो भाकाले हाम्रो जिन्दगीमा तिमी देववाणीमा गीत गाईराख। हाम्रो चाहना जेजस्तो भएपनि एकातर्फ परिवर्तनशील संसारको रीत छ, अर्को तर्फ तिम्रा सुनिरहूँ लाग्ने निश्चल गीत छ। यो कस्तो समय हो छोरा, जीवन प्रति अहिले नाप्नै नसकिने असीम प्रीत छ।

Facebooktwitterredditpinterestlinkedinmail

Leave a Reply

Your email address will not be published. Required fields are marked *