निद्रा कता गयो?



(अबेर सम्म निन्द्रा नलाग्दा)

रातको उमेर ढल्कदो छ
बिछ्यौना सपनीको निम्तो
दिई रहेको छ
ओड्नेले न्यानोपन दिँदो छ
तर खोइ निन्द्रा कता गयो?

एउटा कोल्टे अर्को कोल्टे
कहिले यता, कहिले उता पल्टें
आँखा चिम्म गरी पर्खी बसें
तर खोइ निद्रा कता गयो?

ट्वार् ट्वार् भ्यागुतो कराउँदो छ
मध्यरातको आगमनसंगै यो मन
डराउँदो छ..
भित्र भित्रै आश पलाउँदो छ
तर खोइ निद्रा कता गयो?

(यतिमा बिहानी हुन्छ)
चिरबिर चिरबिर चरा गीत गाउँदै छ
मानिसहरुको निद्रा हराउँदै छ
पूर्व तर्फ, रवि, लाली चडाउँदै छ
तर खोइ निद्रा कता गयो?

(खोइ! यिनै गोसाई-महादेव जानून्)

– लौरिबिना.. बुधबार.. राति.. १६ श्रावन २०६९
  (गोसाईकुण्ड यात्राको क्रममा शेर्पाको घरमा सुत्दा, निन्द्रा नलाग्दा)
Sleep-Remedies-

Facebooktwitterredditpinterestlinkedinmail

बिछडिएको प्रेम

कालो निशामा तारासंगै,
आउँछन् एक जोडी
नयन,
मलाई भेट्न भनि,
झुके-झुकेको
केही हिच्किचाएको
केही पश्चाताप
छल्किरहेको,
ती आँखा,
बोल्न खोज्छन्
केही शब्दहरु
अहँ!
वाक्य फुट्दैन
फुट्दछ त केवल
आँशुको बाँध
तप तप तप
अनि जान्छन् ती आँखा
केही नभनी…

तर आज सुन्दर सपनाझैं
आएकी छे ऊ
त्यही आँखा बोकी..
सल सल बग्ने कपाललाई
जब पवनले धकेल्छ
तब,
देख्दछु म उसलाई
प्रष्ट,
त्यो चाँदनी रातमा |
ठीक त्यस्तै,
जुन रात मैले उसलाई
भन्न सकिनँ
ती कुरा,जुन,
अझै मेरो मनमा गाडिएको छ
काँडा जस्तै…

मैले भन्न सकिनँ
“तिमी परको भविष्य
सोच्छ्यौ किन?
आउ मसंग हरेक पल
बिताउ,
यो चाँदनीमा रमाउ,
वर्तमानमा म छु,
तिमी छौ,
मेरो भरोसा गर
भविष्य हाम्रो बन्नेछ |
भोलि जे हुन्छ, एकसाथ हेरौंला
तिमी आजको चाँदनी बेवास्ता गरी
भोलिको सूर्य खोज्छ्यौ किन?
के पल-पल मिलेर
जिन्दगी बन्ने होइन र?”
हो, म मौन रहें,
तिमीले छोडेर जाँदा..

याद छ मलाई, तिम्रा
यी एक जोडी नयन
आँशुले भरिएका,
त्यो पवित्र ओठ
लुग लुग कांपेका
तिम्रा कोमल चाल
थुर्थुर थर्थराएका
तिम्रो हसिलो मुहार
एकदम मुर्झाएका..
ठीक यही अवस्थामा,
थियौ तिमी,
मलाई छोडेर जाँदा |
मानौं कसैको करले
छोडी जाँदै जस्तै…

अनि आज,
त्यही रुप लिई
मेरो सामु उभिएकी छौ
बिल्कुल निशब्द
बोल्नलाई न त तिमीसंग
शब्द छ,
न त मसंग बहाना..
तर, म बुझ्छु
तिम्रो आँखाको बेचैनी
तिम्रो मनको रहर
तिम्रो भित्री चहाना
त्यसैले म फैलाउँछु
आफ्नो हात
तिमीलाई आफ्नो छातीमा
टाँस्न
छुटिएको हाम्रो मायालाई
गाँस्न…
अनि आउँछौ तिमी
दौडेर,
अश्रुधारा बगाउँदै
ममा लिप्त हुन..
अनि, बडो हर्षसाथ, हामी
एकअर्कालाई मुसार्दै
संसार भुल्न पुग्छौं…

ठीक त्यसै बखत,
एउटा मिठो बास्ना
परबाट आउँछ,
पन्छी वृक्षबाट
मिलनको गीत गाउँछ..
रात्रीकालमा पनि
बाहिर बहार छाउँछ
मानौं प्रकृति खुसीले
गद्गद् छिन्
दुई प्रेमीको पुनर्मिलनमा..
अनि म झसङ्ग हुन्छु
कुनै सपनाबाट ब्युझिंदाझैं
र देख्छु,
न त त्यहाँ तिमी छौ
न त त्यो बहार नै
थियो त बस् मेरो उदास
आकृति अनि हराएको ‘म’
अविरल बग्दै गरेको
अश्रुधारा सहित…..

Facebooktwitterredditpinterestlinkedinmail

याद

मलाई थाहा छ
तिमीलाई मेरो याद आउँदैन
तिम्रो भित्री मनमा
मसंग बिताएका मिठा पलका
सम्झना कदापी छाउँदैन,
न त तिमीले त्यो
सुन्दर अतीत साँचेकी छौ
न त तिमी हाम्रो पुनर्मिलन हुने
आशमा बाँचेकी छौ ||
यदि,
साँच्चै तिमी म बिना न्यास्रीएकी भए
मेरो यादले सताएको भए,
जसरी समुद्रको पानी छाल बनी
तटमा आउन संघर्ष गरी रहन्छ,
ठीक त्यसरी नै,
तिमी म भएको ठाउँमा
आउन संघर्ष गर्थ्यौ |
तर, खेद छ तिमीलाई तिमी मौन रह्यौ.. ||
हो,
तिमी समुद्री छाल बनिनौ
किनभने तिमी नदीको पानी हौ
एकनास बस्न कहिल्यै जानिनौ
तिमी त बस् बगीरह्यौ
भाग्यले जता डोहोराह्यो त्यतै..
मात्र एकचोटी पनि टक्क अडिएर
किनारमा पर्खीरहेको मलाई हेरिनौ.. ||
तर,
जतिनै तिमी भागेपनि
जतिनै बगी रहेपनि
नदीको किनार त हुन्छ नै,
कुनै दिन मेरो श्वासले
तिमीलाई छुन्छ नै.. 
त्यैपनि तिमी बेवास्ता गर्छौ भने,
कुनै दिन नदी सागरमा मिसिन्छ नै
अनि त्यो दिन तिमी स्थिर हुनेछौ ||
ठीक त्यसै दिन,
म पनि हेर्नेछु 
कसरी तिमी भाग्दी रहिछौ..
तटमा बसेको मलाई
छाल बनी तिमी कसरी नभेटऔला?
अनि कसरी तिम्रो मानसपटलमा
हाम्रो मिठो अतित नआउला?
बस् त्यही दिनको प्रतिक्षा छ J ||
Facebooktwitterredditpinterestlinkedinmail

मदिरा

सानै छदाँ भन्नु हुन्थ्यो बाले
बाबु, खानु हुन्न मदिरा
आफ्नो गन्तब्य ठम्याएस्
बीचमा बाटो नबिरा |
मदिरा यस्तो चिज हो,
जति खायो उती लाग्छ नशा
पहिले रमाइलो लाग्ला तर,
पछी लाग्छ दशा ||
सुरुमा मान्छेले खान्छ यसलाई
पछी यसले मानिसलाई |
त्यसैले,
नखानु बाबु तैंले यो मन्द बिष
टाढा रहेस् यसबाट,
यही भो तलाईं मेरो आशिष ||
तर बुवा, 
समयले कोल्टे फेर्दै गयो,
पिउने पिलाउने त फेसनै भयो |
साना ठूला उत्सव मनाउँदा
वा कुनै चाड आउँदा
मदिरा त मानौं त्यहाको
अमृत नै भयो,
पिउने पिलाउने त बाबै
फेसन नै भयो ||
अनि,
यस्ता ठाउँमा
कुनै एउटा भलादमी आउँछ
मदिरा तिरै हात लम्काउँछ |
र यो समाजले पनि
व्हिस्की रम पिउनेलाई
उच्चकोटीमा राखे,
यो जमाना पनि नपिउनेलाई
भनिदिए पाखे..
बुवा,
हामी त पाखे पो भएछौं ||
हेर्नुस न बुवा के जमाना आयो,
मदिरा पिउनेले इज्जत मान सम्मान
आदि सबै पायो |
केही बोल्न सकिन्न यहाँ
उनीहरु बाघ रे हामी खरायो.. |
फेरी यी मदालसहरुको
मदालस नै साक्षी,
रमेका छन् यिनीहरु
हातमा गिलास लिई काखमा मदिराक्षी |
लौन बुवा, के जमाना आयो,
मान्छेको बोध कहाँ हरायो?
हिम्मत गरेर सोधें मैले
एउटा मध्यपायीलाई,
‘के पाउछौं तिमीले
आफैंलाई सिध्याई?’
पुलुक्क हेर्यो उसले
अनि उल्टै सोध्यो रिसले,
‘भाई, तिमी कहाँबाट आ’को,
जीवनको मज्जा तिमीले
खोइ थाहा पा’को?’
अनि उसले,
घुटुक्क पिउँदै भन्यो,
‘एकबारको जिन्दगी यो हेर
त्यतिकै नफाल खेर,
सबै कुरा थाहा हुनु पर्छ,
कति आनन्द दिन्छ यसले
एकपटक चाखेर त हेर..’
अब भन्नु बुवा,
मैले के भन्नु यी मधुमत्तलाई?
अनेक बहाना छन् यिनीहरुसंग
मदिरा सेवन गर्नलाई |
सबै कुराको अनुभव खोज्छन्,
आनन्द लिन शराब नै रोज्छन् |
भलादमीको बिल्ला भिर्छन्,
गल्ली-गल्ली दिउसै गिर्छन् ||
हरेक कुराको अनुभव खोज्ने भए
राम्रो कुरामा हात हाल,
जिन्दगीमा आनन्द रोज्ने भए
गरिब नाङ्गाका लागि आफ्नो कोट फुकाल |
अनि भन्नु,
हरेक कुरा अनुभव गरियो,
समाजको रुप फेरियो..
तिमीहरुको जांड खाने पैसाले
गरिबलाई भात खान पुग्छ..
आफु नशामा लठ्ठिन छोड,
सोध दरिद्रको पेट किन दुख्छ?
धन्य पिता तपाईं,
बेलैमा अर्ती दिनुभो मलाई..
केही गर्न नसके पनि मैले,
भात खाने पैसा रक्सीलाई खर्चेको छैन |
आफु बोक्रे भलादमी बन्न,
मदिराको अत्तर छर्केको छैन |
त्यसैले बुवा,
म अचेल त्यस्ता भलादमीको
पार्टीमा कमै जान्छु |
त्यस्ता बोक्रे भलादमी हुनुभन्दा जाती
आफु पाखे हुनुमै ठान्छु..
आफु पाखे हुनुमै ठान्छु…. ||
Facebooktwitterredditpinterestlinkedinmail

भारी बर्सात र प्रियसीका यादहरु

चर्को ढोल बजाई
कालो रुप लिई
गगनले गर्यो
शिंहनाद,
ठूला भुमरी बनी
स्वाँस्वाँ र फ्वाँफ्वाँ गरी
बतासले आफैंलाई गर्यो
आजाद ||
कुरुक्षत्रको लडाईं जस्तो,
शान्त धर्तीमा मच्चियो
बबन्डर,
अनावर्षण पछीको गर्जन
थियो त्यो,
भारी बर्सात भयो
निरन्तर ||
ठीक त्यस्तै ढ्यांग्रो
यो मुटुमा नि गर्जियो..
आकाशमा बिजुली चम्किदा
मनको घाउ बल्झियो..
हुरीले सबथोक सोहोरेझैं
मनको कुनाबाट याद सोहोरियो..
बर्षौंदेखि भुलेका पलहरु
मानसपटलमा एकैसाथ दोहोरियो..
बर्सातका बाछिटाले जब
गर्यो गर्दनमा कोमल
स्पर्श,
प्रियसीका नरम हत्केलाको
झझल्को ले छायो एक
हर्ष |
तर,
टिकेन त्यो खुशी
खोइ कता बिलायो,
फेरी,
यो कोमल मनमा
किन प्रलय आयो ||
हावाका वेग नगिच आई,
कानमा गर्यो साउती..
अनि,
याद आए उसका वाणी,
त्यो तातो श्वास,
सम्झनामै लाग्यो मिठो
काउकुती ||
अनायशै याद आए ती पल,
हामी बर्सातमा खेलेको,
मायाको स्वप्न संसार बनाई,
हावामा ठेलेको..
संगै बिताएका ती पलहरु,
यो पानीले धोइदियो..
टाढा भएछौं हामी,
एकान्तमा यो मन रोइदियो ||
साथै रहने कसम खाएपनि
छुट्टिएछौं हामी,
कठै! यो कस्तो खेल?
बाहिरको बर्सात संगै
रोयो यो मन,
  बग्यो यी आँखाबाट भेल…
  बग्यो यी आँखाबाट भेल… || 
Facebooktwitterredditpinterestlinkedinmail

मुटु

हरेक पिंडा सहने
एउटा यस्तो ठाउँ बनायौ
दह्रो बनाएको भए हुन्थ्यो
प्रभु!
मुटु त बनायौ
तर हल्लिने बनायौ
सबै दर्द, सबै बेदना
अनि सब व्यथाको
बास स्थल मुटु नै बनायौ
दह्रो बनाएको भए हुन्थ्यो
प्रभु!
हल्लिने बनायौ
माया प्रेम पनि भगवान
यसै बाट सुरु गरायौ
कसैको लागि भावना पनि
यसमै कैद गरायौ
यसको पर्खाल दह्रो हुनु पर्ने
प्रभु!
हल्लिने बनायौ
मानव शरीरको महत्वपूर्ण अंग
मुटु नै बनायौ
प्रत्येक ढुकढुकी संग रगत मात्र होइन
भावनाहरु  पनि प्रवाह गरायौ
निडर, अडिग अंग बनाएको भए हुने
प्रभु!
हल्लिने पो बनायौ
सानो ठुलो आपत बिपतमा
मुटु नै काम्ने बनायौ
फेरी सानो-तिनो सुखमा पनि
यहि मुटु नै हंसायौ
बलियो बनाउनु पर्ने यो मुटु
प्रभु!
हल्लिने बनायौ
कस्तो हुन्थ्यो होला यदि
विरुवाझैं हामीले पनि
अतितलाई मेट्न सके
पुराना पातलाइ हटाई
नया पालुवालाई स्वागत गर्न सके
तर तिमीले त अतितलाई पनि
यहि मुटुमै गढायौ
फेरी यहि मुटुलाई तिमीले
प्रभु!
किन हल्लिने बनायौ?
शरीरलाई आदेश दिने तिमीले
बुद्धि त बनायौ
तर दिमाग ले मात्र होइन
मुटु ले पनि सोच्ने बनायौ
फेरी त्यहि मुटुलाइ तिमीले
यति भावुक बनायौ
प्रभु!
किन यसलाई हल्लिने बनायौ?
त्यसरी भगवान तिमीले यो शरीरको
बोझ जति मुटु मै थमायौ
सुख, दुख, माया, घृणा आदिले
यसलाई निकै भारी बनायौ
कडा बनाउनु पर्ने अंग तिमीले
निकै संवेदनशील बनायौ
दह्रो होइन तिमीले
प्रभु!
यसलाई कमजोर बनायौ
 धेरै हल्लिने बनायौ…धेरै हल्लिने बनायौ …   

Facebooktwitterredditpinterestlinkedinmail

मुस्कान

ती बत्तीस दन्त लहरा
जब खुल्छन् आहा
धपक्क बल्छौ तिमी
खुल्दछ संसार यहाँ
ओठलाई तन्काउँदै तिमी
जब आँखाले गर्दछौ इसारा
भुतुक्क हुन्छु म
भुल्दछु संसार सारा
लठ्ठ परेर म, जब 
तिमीलाई हेर्छु निरन्तर
एक पोको लाज फुकाई 
निहुराउँछौ आफ्नो शिर
चिहाँउछन् मलाई फेरी 
उफ! तिम्रा अस्थिर नयन 
मिठो मुस्कान डुलाउदै 
लुट्छौ मेरो चयन 
केहि भन्न खोज्छौ
तर सक्दैनौ पनि 
तिम्रो जस्तै यहाँ 
हाल छ मेरो पनि
मेरा यी चोर आँखा
हेर्छन् तिमीलाई लुकी
सारा  बोझ बिसाई
उड्न चाहन्छु फुकी
तिम्रै यादमा डुबेर 
मेटाउँछु मेरा थकान
केहि चाहिन्न मलाई
देऊ एक मुस्कान 

देऊ एक मुस्कान 🙂

Facebooktwitterredditpinterestlinkedinmail

म अनि तिमी

निलो  निलो आकाश
अनि तिम्रो आभाष
तिमी हुनुको,
हावा जस्तै
देखिदैनौ तर छौ|
अनि उड्दै गरेको 
दुई बादलुका टुक्रा
सेता अनि बाक्ला
मेरो मन जस्तै 
हलुको अनि निखर
र तिम्रा यादहरु
सूर्यका ती किरण जस्तै
निरन्तर, एकैनासको 
आएर मनलाई कुत्कुत्याउने
तिम्रो न्यानो अनुभूति  

कालो कालो गगन
अनि चम्किलो बगैंचा 
ताराहरुको, 
झिम-झिम गर्ने ती
हाम्रो प्रेमको नासो
अनि  बिचमा मुस्कुराउदै गरेकी 
चन्द्रमा, तिमी,
मेरो अन्धकारलाई हटाउन 
पूर्ण रुप लिएकी 
ममा अनुराग छर्न 
र तिम्रो प्रतिक्षा गर्ने 
शान्त, विशाल सागर, म
ब्युंतिन्छु तिम्रो प्रकाशसंगै, 
र तिमी टांसिन्छौ मेरो छातीमा  
म, तिमी अनि  हाम्रो मिलन 
एउटा अमर प्रेमको प्रतिक 
Facebooktwitterredditpinterestlinkedinmail

जादु


एउटा त्यो जादु
तिम्रो नज़रको 
वाण जस्तो सुरिलो
आएर मुटुमा रोपिने 
तर पिडा होइन,
मिठास दिने

अर्को जादु
तिम्रो मुस्कानको 
सूर्यझैं तेजिलो
प्रकाश छर्ने
कालो रातलाई पनि
छर्लंग पारिदिने

अनि अर्को जादु
तिम्रो हुनुको 
आनन्दमय स्वर्ग जस्तो
खुसीले भरिपुर्ण 
दुखी मनलाई पनि
सन्तुष्ट बनाईदिने

अनि त्यो जादु 
तिम्रो सम्झनाको 
जाडोको घाम जस्तो 
निकै प्यारो
तिम्रो अनुपस्थितिमा पनि
तिमीलाई मेरो सामु ल्याइदिने 

अनि यो जादु  
स्वयम् तिमी 
मेरो आत्मा तिमी
मेरो ढुक-ढुकी तिमी
म भित्र बस्ने तिमी 
मेरो पहिचान तिमी
मेरो स्वर्ग तिमी
ममा ज्यान भर्ने तिमी
अनि मलाई सताउने?
त्यो पनि तिमी 
मात्र तिमी…. 

Facebooktwitterredditpinterestlinkedinmail

प्रेम युद्ध

एक्लो, फगत एक्लो

यो जीवनमा 
न त तिमी आउन सक्यौ
न त म उदाउन सकें

सून्य- सून्य यो स्तिथिमा 

कस्तो द्वन्द चर्केको हो
यो मेरो मनमा 
न त तिमीले बुझ्न सक्यौ
न त मैले बुझाउन सकें 

ठसाठस- ठसाठस कोचिएका 
अव्यक्त यी मेरा मनोभाव 
न त तिमीले पढ्न सक्यौ
न त मैले पोख्न सकें

त्यसैले त म दबिएको छु
आफैभित्र, फुक्न नसक्ने गरी
त्यसैले त म पिल्सीएको छु 
घाउहरु सुक्न नसक्ने गरी….

तिमीलाई मन-मनमा सजाउदा
मन भारी हुँदा बिसाउन सकिन
तिम्रा पर्खाइले बनेका ती चोटहरुको
व्यथा कतै दर्साउन सकिन

तिम्रा ओठको मुस्कानमा रमाउदा 
तिम्रा दुखमा तिम्रो हात समाउदा
मैले त आफ्नो होशै  हराएछु 
होशमा आएपछि,
तिमीले मेरो मन तोडेपछि,
 जोड-जोडले कराएछु 

तर त्यो रोदन, त्यो चिच्याहट 
कसले सुन्ने यहाँ?
मेरी नजिककी तिमीले त वास्ता गरिनौ
अरुलाई मेरो स्तिथि जान्ने फुर्सद कहाँ?

त्यसैले आज म एक्लो छु
फगत एक्लो
तिम्रो याद त मसंग छ
तर ती तीता भैसके 
मिठासको परिभाषा
तिनले दिन छोडिसके

अब त मन अमिल्लिएको छ 
तिम्रो याद धमिल्लिएको छ 
बिस्तारै यो मन पोल्न छोड्छ
तिम्रो यादको सिमा भित्र डुल्न छोड्छ 

अनि त्यसपछि  हेर्नु तिमीले 
यो एक्लोपना, यो एकान्तपन
कसरी स्वर्ग बन्छ 
अनि म रमाउनेछु  त्यसैमा 
राजा इन्द्र बनेर
अनि तिमी नाच्नेछौ मेरो इशारामा 
मेरै अप्सरा बनेर
मेरै अप्सरा बनेर ||

Facebooktwitterredditpinterestlinkedinmail