चन्द्रमा

म सुन्छु, 
एक  प्रेमी 
आफ्नो प्रियसीसँग, 
अँगालोमा बेरिई, 
एकको ढुकढुकी 
अर्कोले महसुस गर्दै, 
भन्छ,
‘प्रिया, तिमी चन्द्रमा जस्ती छौ |’

अनि त्यहाँ, 
जोडिन्छन् ओठमा ओठ,
केटी लाजले भुतुक्कै हुन्छे, 
तर त्यो लाजले उसलाई उत्ताउलो पार्छ,
र अझ समीप हुन्छे |
सामिप्यताले जब कुनै सिमा जान्दैन, 
दुई शरीर जब एक हुन लालायित हुन्छन्,  
अनि रन्को मार्छन्, 
तब समर्पण गर्छे ऊ, 
आफ्नो सारा, उसको प्रेमीलाई..
र फूल्न पुग्छ, त्यहाँ, 
प्रेमको सुन्दर फूल.. 
अनि म हेर्छु, 
त्यो चन्द्रमालाई, 
जससँग त्यो प्रेमीले 
आफ्नी प्रेमिकालाई, 
दाँजेको थियो | 
र म देख्छु, 
एउटा उदास चेहरा,
एउटी उदास युवती, 
सेतो धोतीमा बेरिएकी,
कल-कलाउँदो यौवनमै, 
विधवा भएकी, 
एउटी फक्रन नसकेकी कोपिला..
उसलाई हेर्दा लाग्छ, 
उसका रङ्ग उसमा भरिन नपाउंदै, 
कतै उडेको थियो | 
ऊ रंगीन हुन चाहन्न, 
या त रंगीन हुनै सक्दिन,
समाजको डरले | 
कलकलाउँदो उमेरमा ‘उसको’ 
पतिको देहान्त हुँदा, 
उसलाई लोग्ने टोकुवा भनियो | 
आज ऊ, 
समाजको ‘कर र डर’ भित्र च्यापिएर, 
लाचार बनेकी छे | 
त्यो कालो धब्बा, उसमा, 
समाजले पोतिदिएको हो | 
त्यसैले ऊ आफुँमा रंग भर्न सक्दिन.. 
कहिले, 
ऊ भित्र आशा पलाएर आउँछ,
र हरेक दिन ऊ, 
सूर्यको रंगिन किरण उधारोमा लिन्छे, 
अनि पोत्न खोज्छे आँफैलाई, 
लाली चढाउन खोज्छे आँफुमा, 
सपना देख्ने जमर्को गर्छे, 
तर अफसोच, 
ती रंग आफुँमा भर्न सक्दिन, 
ओढ्न सक्दिन ती रङ्गहरु, 
किनभने उसमा दाग छ, 
समाजले उपहार दिएको.. 
सपनाको संसारमा मग्न हुँदा, 
ऊ धपक्क बलेर पूर्ण हुन्छे, 
बिना कुनै रंग नै ऊ, 
चौपट्ट सुन्दर हुन्छे.. 
उसको दाग मेटीएझैँ हुन्छ, 
र त्यहाँ पूर्णिमा हुन्छ.. 
तर, 
जब फेरी उसको सपना तुहिन्छ, 
जब फेरी ऊ निभ्न थाल्छे, 
तब, 
ऊ उसको कालो दागको दास बन्छे, 
लाचार अनि विवश बन्छे, 
र पुरै अन्धकार छाउँछ, 
ठीक त्यै बखत, 
कालो औंसी निर्लज्ज आउँछ | 
चन्द्रमाको त्यो सपना देख्ने 
अनि टुट्ने क्रम
जारी रहन्छ |
र,  
फेरी कुनै रातमा, 
कुनै नव जोडी, 
प्रेमको उन्मादमा, 
सानन्दको वर्षा गराउंदै,
एक अर्कामा लीन हुँदा, 
चन्द्रमालाई नै हेरी,   
केटाले केटीलाई  
‘चन्द्रमा’ उपनाम दिन्छ, 
र त्यहाँ, 
पुन: प्रेमको फूल फुल्छ |
तर कठै!!,
त्यो जोडीलाई के थाहा? 
“माथि चन्द्रमा प्यासी छे, 
उसमा श्वास छैन, 
जीवन छैन |
सूर्यको किरण उधारो लिई, 
रंगिन हुने खोक्रो सपना मात्र साँचेर,
ऊ बेरंग छे |  
उसमा रंगिन फूल फुलाउने 
सामर्थ्य,
अब छैन..”



Facebooktwitterredditpinterestlinkedinmail

8 thoughts on “चन्द्रमा

  1. सदा झैँ म शब्दको अभावमा तड्पिरहेको छु| यहाँको शब्दको जादु सदा यसरी नै चलिरहोस्| 🙂

  2. The selection of words is brilliant. The poem itself is intense and deepening as such it holds the reader throughout the poem. मेरो बिचारमा ५ तारा 🙂

  3. धन्यावाद साथी.. 🙂 यो कमेन्टले मलाई झन् उर्जा दिएको छु.. आउदो दिनमा ५ तारा अझै हासिल गर्न सकूँ 🙂

Leave a Reply

Your email address will not be published. Required fields are marked *