म धकेलिएँ
त्यो बस्तीबाट
जहाँ,
सज्जनहरुको बास छ
म लखेटीएं
त्यस नगरबाट
जहाँ,
पाइला पाइलामा त्रास छ
म फालिएँ
ती तथा–कथित् सज्जनहरुबाट
त्यसैले,
उनीहरु माझ अट्टहाँस छ
सुन,
यहाँ अन्धकार अवश्य छ,
तर पूर्णता छ, शान्ति छ
हे सज्जनहरु,
तिमीहरुलाई विश्वास नलाग्दो हो,
तर,
यहि निश्पट्टतामा चन्द्रमा हाँसेकी छिन,
ताराहरु सलबलाएका छन्,
जुनकिरिहरु पिलिक पिलिक बत्ति बाल्दै
हर बखत नाचेका छन् |
ठिकै भयो,
तिमीहरुले मलाई त्यो बथानबाट अलग्याएको,
नत्र म त्यहीं हुन्थे,
जहाँ,
सुन्दर चन्द्रमामा दाग मात्र देखिन्थ्यो,
उज्यालोलाई प्रश्न गरिन्थ्यो,
उदास फूल फुल्थ्यो,
पवित्र गंगाको चरित्र हत्या गरिन्थ्यो,
मयूर पंख फैलाएर नाच्न सक्दैनथ्यो,
डर, त्रास, लोभ, मोह, हत्या आदि को जरो गाडिएको थियो |
हे बुद्धि भ्रस्ट भएका सज्जन हो,
त्यहाँ सब थोक थियो,
र पनि सून्य थियो..
यहाँ केहि छैन,
र पनि पूर्णता छ
यहाँ,
पर क्षितिजमा भाष्कर कहिल्यै उदाउंदैन
उदाउँछ त बस आफ्नो मन भरि
कहिल्यै नअस्ताउने गरी
यहाँ,
फूलहरुको हाँसो कहिल्यै देखिदैन,
तर बास्ना चल्छ हर–हरी
निरन्तर चल्ने हावा सरी
यहाँ,
मयूर नाचेको त देखिंदैन
तर उसको नाचको छनक छ तरङ्ग भरि
मनै लोभ्याउने गरी
हे बुद्धि नभएका सज्जन हो,
तिमीहरुले घोक्राईदिंदा म यहाँ आएँ
र त जून–तारा उपहार पाएँ
त्यहाँ त गगन पनि बादलले ढाकिन्थ्यो
आफु–आफुमा फगत रिष–राग साटिन्थ्यो
लौ हेर,
तिमीहरुले बहिस्कार गरिदिंदा आज,
त्यो स्वार्थी बस्ती भुली यो परिवेशमा रमाएँ
तर,
धन्य तिमीहरु,
मलाई तिमीहरुले अझ देखी सकेनौ
र त मैले ‘पागल‘ उपनाम कमाएँ
त्यैपनि,
आज म आफैंमा सन्तुष्ट छु
पागल कहलाइएकोमा न त रुष्ट छु
त्यसैले म भन्छु घरी–घरी,
हे सज्जनहरु,
धन्य मलाई धकेल्यौ
त्यो बस्तीबाट
जहाँ,
तिमीहरुको बास छ,
धन्य मलाई लखेटेउ
त्यस नगरबाट
जहाँ,
पाइला पाइलामा त्रास छ
धन्य मलाई छोडिदियौ,
यस्तो सहरमा,
जहाँ,
सून्यता आफैंमा खास छ
अन्धकारमै उज्यालोको आभास छ|
Facebook
X.com
LinkedIn
Instagram
Pinterest
More
kasto dramatic!! 😛 keep writing!!
kasto dramatic!! 😛 keep writing!!
haha.. dramatic hai? thanks for reading and I'd be glad if there are any tips for me to improve my writing from ur side?? thanks..
i am so impressed yar. heart touching poems