निस्पट्टता

२०६९-०३-०५
(मेरो डायरीबाट)

निस्पट्टता: मानिसहरु यो शब्दलाई कति नकारात्मक रुपमा लिन्छन् | आफुले भोगे पनि नभोगे पनि, यो शब्द उनीहरुको लागी भयानक छ | निस्पट्टता माने अन्धकार, जहाँ कुनै प्रकाश छैन | र भय त्यसै बखत उत्पन्न हुन्छ जब मानिस केहि देख्दैन | केहि कुरा देखे पछी मात्र ऊ ढुक्क हुन्छ नत्र विवेकसून्य भएर ऊ त्रसित हुने क्रम जारी रहन्छ | सधैं हिड्ने बाटो पनि अन्धकारमय हुँदा ढुक्क संग हिंड्न सकिंदैन | बिस्तारै बडो होसियार भइ कदम चाल्नु पर्ने हुन्छ | एक किसिमको त्रास मनमा रही रहन्छ | कतै ठेस लाग्ने पो हो कि?

तर मलाई निस्पट्टतासंग अगाध प्रेम छ | कतिपय कुराहरु म अँध्यारोमै पाउँछु | निस्पट्टतामा कता-कता म रम्दछु | भानिन्छ सबै रंगहरुको मिश्रण पछी नै कालो रंगको सृजना हुन्छ | त्यसैले होला म पनि अन्धकारमा थुप्रै कुराहरु डुबुल्की मार्दै गरेको पाउँछु | निस्पट्टताले मलाई आकर्षित गर्छ | टोलाएर जब म अन्धकारमा भावसून्य हुन्छु, तब मलाई अनन्त पुकार सुनाइदिन्छन् | आफ्नो अंगालोमा मलाई गुटुमुटु पार्न हरदम तयार यो अन्धकार, मलाई कत्ति पनि भयानक लाग्दैन |  थुनिएको, बन्धक बनाईएको मान्छेहरुलाई अन्धकार देखि घृणा हुन सक्ला | तर म त खुला पन्छी जस्तै हुँ | मलाई मन लागेको रोज्न अधिकार छ र निस्पट्टता रोज्न म कत्ति पनि हिचकिचाउदिन | कालो निशामामै ताराहरु मिलिक-मिलिक गर्छन्, चन्द्रमा स्वादसँग हाँस्छिन् | यदि अन्धकार भयानक हुने भए, यी ताराहरु अनि चन्द्रमा रमाउदै नाँच्ने अनि धपक्क बल्ने काम गर्थे होलान् र? अरुलाई अत्याश लाग्ने रजनी किन यिनीहरुलाई प्यारो छ? ती ताराहरु हेर्दा लाग्छ, मानौं कसैले गगनमा झिलिमिली गर्ने अन्नको बिस्कुन सुकाएको छ | ती ताराहरुलाई हेरी-रहंदा, एक प्रकारको शान्ति महसुस हुन्छ रातको निस्पट्टतामा |

डर हाम्रो मानिसकतामा गाढिएको छ | निस्पट्टता आफैंमा नकारात्मक होइन | यो त कसले कसरी परिभाषित गर्छ भन्ने मात्र न हो | निस्पट्टताको परिभाषा मेरो शब्दकोशमा बेग्लै छ | सायद म अपवाद परें कि?

Facebooktwitterredditpinterestlinkedinmail

Leave a Reply

Your email address will not be published. Required fields are marked *