स्मृति २

बाल्यकालको तस्वीर,
मेरो बा, उहाँको कलिलो छोरो
अनि पछाडी साइकलमा सवार कान्छो दाहाल,
त्यो पहेंलो तोरीबारीमा कति खुलेका ।

त्यो भन्दा नि खुलेको छ,
मेरा बाको सेता दन्त लहरा
सायद, ती फुलेका झुलेका पहेँला तोरी भन्दा पनि राम्रो लाग्यो बालाई
त्यो पहेंलो सर्ट लगाउने सानो मनुवा

फेरी लाग्छ,
मेरा बाको नजरमा
ती फुलेका फगत पहेँला फूल होइनन्
ती त उनकै पुत्र हो ।
मेरा बाले रोपेर फक्रेका पुत्र ।

मेरा बा,
सन्तान बीच घेरिएर दङ्ग छन्
आफैंले गोडमेल गरी फक्रेका सन्तान ।

आज यो तस्वीर नियाल्दा,
एउटा पुत्रको नजरबाट,
म ती तोरीका फूलमा
बुवाका हाँसो अनि खुसी देख्छु
मेरा बाले,
आफ्नो खुसी, उदाङ्गो आकाश ले
छोप्न नसक्ने गरी छर्दिनु भएछ ।

त्यसैले,
म आजपनि
हरेक तोरीबारीमा मेरा बाको
खुसी फक्री रहेको पाउँछु
र म प्रफुल्लित हुन्छु
त्यो तस्वीरको पहेंलो सर्ट लगाउने
सानो मनुवा जस्तै ।

Facebooktwitterredditpinterestlinkedinmail

Leave a Reply

Your email address will not be published. Required fields are marked *