विभुको पहिलो शब्द

(Date: Jan 2, 2022)

डियर विभु,

तिमी आज ठीक साँढे ४ महिनाको भयौ । एक महिना भन्दा अलि बढी भयो होला तिमी मान्छे चिनेर हाँस्न थालेको । तिमी अरुभन्दा मसँग अलि बढी हाँस्छौ । यो देखेर तिम्री आमा कहिले औधी खुसी हुन्छे त कहिले थोरै ईर्ष्या पनि गर्छे । कहिलेकाँही त हाम्रो – कसले बढी हसाउँने – भनेर एक किसिमको प्रतियोगिता नै चल्छ। कहिले तिमी आमासँग खित्का छोड्छौ त कहिले मसँग। तर जोसँग बढी हाँसे पनि जीत हामी दुवैको हुन्छ। तिमी हाँस्दा हामी मध्य एक हार्ने त कुरै भएन। तिम्रो हाँसो हाम्रो जीत ❤️

एकदिन म तिमीसँग खेल्दा खेल्दै तिमीलाई ‘बाबा’ भन्न सिकाउँदै थिएँ । त्यतिकैमा तिम्रो हजुरआमाले मलाई रोक्नु भयो र भन्नुभयो, ‘ बच्चाले बाबा होइन पहिलो शब्द आमा भन्नुपर्छ ।’ तिम्रो हजुरआमाको कुरा ठीक या बेठीक केही विश्लेषण गरिएन तर त्यसको गहिराई अस्ति बुझें जब तिमी आमाको काखमा थियौ । तिमीले खेल्दाखेल्दै तिम्रो मुखबाट लामो लेब्रो तानेर ‘आमा’ शब्द निस्कियो ।

त्यो ‘ आ…मा..’ शब्द सुन्ने बित्तिकै तिम्री आमाको मुहारमा अलौकिक आनन्द र खुसी देखें । सायद तिमीले ‘ बाबा ‘ भनेर शब्द उच्चारण गरेको भए मेरो खुसी त्यो बिन्दुसम्म पुग्ने थिएन जति तिम्री आमाको पुगेको थियो। म सोच्छु कि तिम्रो मुखबाट अनायसै / अन्जानमा निस्केको शब्द ‘ आमा ‘ ले तिम्री आमा यति खुसी हुन्छे भने त्यो दिन उसको आनन्दको सीमाले कुनै हद देख्छ/भेट्छ होला र जब तिमीले साँच्चै ‘ आमा ‘ भनेर पुकार्छौ?

त्यसैले म चाहन्छु तिमी तिम्रो पहिलो शब्द ‘ आमा ‘ नै भन। आमाको त्याग, बलिदान, स्नेह अनि मायाको कुनै तुलना नै छैन। संस्कृतमा एउटा भनाई छ – न मातु: पर दैवतम् । अर्थात्, There’s no god bigger than mother. (आमा भन्दा ठूलो कुनै देवता छैनन्।)

May be a closeup of 1 person and baby

Facebooktwitterredditpinterestlinkedinmail

Leave a Reply

Your email address will not be published. Required fields are marked *